काठमाडौँ, ६ असोज : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी पुस्ताको आनदोलनमा क्षति भएका भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ ।
प्राधिकरणकी प्रवक्ता, उपसचिव शान्ति महतले परीक्षण बिनै रङ रोगन गरी प्रयोग गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त छ भन्ने यकिन भएपछि मात्रै पूयोग गर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।
उहाँले बढी क्षति भएका संरचनाको भने संरचनात्मक अवस्था मूल्यांकन नगरी रङ रोगनका कर्याहरु नगर्न र नगराउन पनि अनुरोध गरिएको बताउनुभयो ।
“यही भदौ २३ र २४ गते आगजनी र तोडफोडबाट क्षति भएका सरकारी र निजी भवनहरुमा प्रवेश गर्दा वा पुनः प्रयोग गर्दा थप मानवीय क्षति हुनसक्ने भएकाले प्राविधिक परीक्षण गरी÷गराई सुरक्षित भएको सुनिश्चित भएमा मात्र प्रयोगमा ल्याउनु हुन सरोकारवाला सबैमा विशेष अनुरोध गर्दछौँ”, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “साथै, बढी क्षति भएका भवनको संरचनात्मक अवस्था मूल्यांकन नगरी रङ रोगनलगायतका कार्यहरु समेत नगर्नु÷नगराउनु हुन आग्रह गर्दछौँ ।”
प्रहरीको प्रारम्भिक विवरणमा जेनजी आन्दोलनमा ६०० भन्दा बढी भवनहरु पूर्ण रुपमा नष्ट भएको छ भने एक हजार ५०० भन्दा बढी भवनहरु आंशिक क्षति भएको छ ।
यता प्राधिकरणले भने क्षतिको मूल्यांकनका लागि प्रारुक तयार पार्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरेर काम थालिसकेको जानकारी दिएको छ ।