काठमाडौँ, ६ असोज : जेनजी आन्दोलनमा भागेका मध्ये आजसम्म ६ हजार ९८४ कैदीबन्दीलाई कारागारमा फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै ७ हजार ५७१ कैदीबन्दी फरार रहेका छन् ।
पछिल्लो २ दिनमा मात्रै ६५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताउनुभयो ।
यही असोज ४ गतेसम्म ६ हजार ६२८ कैदीबन्दी कारागार फर्काइएको थियो । त्यसपछि दुई दिनमा ६५६ जना कैदीबन्दीलाई फर्कायएको हो । कैदीबन्दीहरु दैनिकजसो नै कारागारमा आइरहेका छन् ।
जेनजी आन्दोलनमा यही भदौ २४ गते कारागारमा तोडफोड र आगजनी हुन थालेपछि यसरी कैदीबन्दी भागेका थिए ।
भागेका कैदीबन्दीको कुल संख्या १४ हजार ५५६ रहेको थियो । कुल ३० हजार ६३९ कैदीबन्दी रहेकामा १५ हजार ५२५ कैदीबन्दी भने आन्दोलनका बेला नभागी बसेका थिए ।
हाल कारागारमा २२ हजार ६५१ जना कैदीबन्दी रहेका छन् । फरार रहेकाहरुको खोजी जारी रहेको विभागले जनाएको छ ।
ती कैदीबन्दीहरु २८ वटा कारागार र ९ वटा सुधार गृहबाट भागेका थिए । कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ । धेरैजसो भने आफैँ आएका हुन् । बालसुधार गृहबाट ९६३ जना भागेका थिए ।
यता प्रहरीले हिरासतमा रहेका २ हजार आरोपीहरु समेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ । १० जना कैदीबन्दीको भने मृत्यु भएको छ ।