–नारायण ढुङ्गाना
काठमाडौँ, ५ असोज : एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृष्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो ।
चितवनको भरतपुरस्थित घर नजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजानुहुन्थ्यो । उहाँको मानसपटकमा त्यो गुम्बा रहिरहयो । जहिले पनि त्यहाँ पुग्दा उहाँलाई शान्ति मिल्थ्यो ।
त्यो बाल्यकालको छाप काठमाडौँ आउँदा पनि मेटिएन । गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रङले क्यान्भासमा उतारेर राख्नुभयो । एक वर्ष अघि बनाएको चित्र अहिले उहाँको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ ।

प्रदर्शनीको अर्काे आकर्षण हो बौद्धमा रहेको गुम्बा । कुनै एक विदेशीले बौद्धमा शहर बस्नु अघि नै खिचेको पुराना तस्वीरहरु उहाँले संगाल्नुभएको थियो । त्यसमध्येको केही तस्वीरलाई उहाँले क्यान्भासमा तेल रङमार्फत उतार्नुभएको छ । जहाँ बौद्ध वरिपरि परम्परागत घरहरु मात्रै छन् ।
बाँकी सुन्दर प्रकृति अनि फाँटहरु । अहिले त्यो दृष्य तस्वीर र यस्तै क्यान्भासमा मात्रै सिमित छ । उहाँले त्यही पुरानो यादलाई क्यान्भासमार्फत जिवन्त दिन खोज्नुभएको छ ।
त्यही बौद्धको पुरानो सम्झनालाई उहाँले क्यानभासमा भरेर प्रदर्शन गर्नुभएको छ । फरकफरक कोणबाट खिचिएका बौद्धका तस्वीरलाई उहाँले क्यानभासमा उतार्नुभएको छ । उहाँलाई बौद्धले सबै तानिरहने सुनाउनुभयो ।

४ वर्ष अघि बनाएको चितवनकै गर्मीको समयको सूर्यमुखी फूललाई पनि उहाँले देखाउनुभएको छ । आना त्यसलाई वास्तविक भन्दा फरकशैलीमा प्रस्तुत गर्न रुचनाउनुहुन्छ ।
यस्तैयस्तै प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहनुभएको छ । अझै ८ दिन यहाँ उहाँको कला हेर्न सकिन्छ ।
अना भन्नुहुन्छ, “मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु ।” उहाँले प्रदर्शनीमा कतिपय फूलहरु पनि समावेश गनुृभएको छ । बौद्धको पुराना तस्वीरलाई क्यानभासमा उतार्नुभएको छ । जुनबेला सुन्दर फाँट र परम्परागत घरहरुको बीचमा रहेको बौद्ध गुम्बालाई उहाँले विषय बनाएर फरकफरक कोणबाट क्यान्भास सजानुभएको छ ।

“म मान्छेसँग टाढिएर प्रकृतिसँग नजिक भएँ, जीवनमा प्रकृतिले धेरै असर पारेको छ, त्यसैले प्रकृति र धर्म, संस्कृति र फूलहरु मेरा विषय बनिदिन्छन्”, आना थप्नुहुन्छ । वन, जंगल, खोला पुल पुलेसा, भीर पाखा, पखेरा तालतलैया, आकास, बादल, चराचुरुङ्गी, जीवजन्तु र डाँडाकाँडा उहाँको सिर्जनाका रुचिका विषय हुन्। त्यही प्राकृतिक सुन्दरतामा उहाँको कुची चलेको छ ।
प्रकृतिसँगको गहिरो सम्बन्ध यो प्रदर्शनीमा देख्न सकिन्छ । उहाँको मुख्य रुचि तेल रङलाई खेलाउनु हो ।
“प्रकृतिपछि बौद्ध सबै नेपालीहरुबीच नजिक छ, बुद्ध एकदम शान्त लाग्छ“, आना भन्नुहुन्छ, “मनले माग्छ अनि प्रकृतिसँगै त्यसलाई पनि उतार्छु ।”

उहाँ कलालाई शब्दले बयान गनु सकिँदैन भन्नुहुन्छ । उहाँले थप्नुभयो, “रङमार्फत प्रकृतिलाई बुझाउने प्रयास गर्छु, प्रकृतिले नबोलिकन धेरै कुरा सिकाउँछ भनेर देखाउन खोजेकी छु प्रदर्शनी हेरिदिनुस् ।”
आनाले कला पढ्नुभएको होइन, आफैँ घरमा बनाउँदाबनाउँदै सिक्नुभएको हो । पाँच वर्षदेखि कला साधनामा उहाँ सक्रिय हुनुहुन्छ । अन्य कलाकारका भन्दा उहाँको सिर्जना कमजोर लाग्दैनन् । उहाँ आफ्नै शैलिका सिर्जना गर्नुहुन्छ । परम्परागत कलामा पनि उहाँलाई रुचि छ । थाङ्कामा पनि चाहना छ ।
कहिलेकाहिँ कतिपय समयमा ग्रीनतारालाई विषय बनाएर आफ्नै शैलिले रङ भर्नुहुन्छ । यहाँ हेर्न आएका कला पारखीहरु अझै कलामा उच्च शिक्षा गनुृभयो भने अझै कलामा निखारता आउने सुझाव उहाँलाई दिनुहुन्छ ।
जेनजी पुस्ताबाट केही महिना नाघ्नुभएर्क आनाले भ्रष्टाचार रोकौँ भनेर भदौँ २३ गते जेनजीको वास्तविक मागको समर्थन गर्दै माइती घर पुग्नुभयो । भ्रष्टाचार रोक्ने नारासहित ग्रामिण दृष्य चित्र बोकेर जानुभएकी आनाको उक्त क्यान्भासमा सयौँ युवाले हस्ताक्षर गरेर उहाँको अभियानमा समर्थन जनाउनुभयो । त्यही क्यान्भासलाई पनि उहाँले यहाँको प्रदर्शनीमा राख्नुभएको छ ।
अझै आफूलाई निखार्दै गरेको बताउने आना अग्रज कलाकारको सिर्जना हेरेर पनि धेरै सिकिरहेकी सुनाउनुहुन्छ । आधा समय कला सिर्जना गरेर विताउने र आधा समय प्रकृति र फुलसँग खेल्ने गरेको सुनाउने आना शहरबजार भन्दा गामिण परिवेश प्रति रुचि रहन्छ भन्नुहुन्छ । त्यसैले उहाँको सिर्जनामा पनि ग्रामिण दृष्यहरु देख्न पाइन्छ ।

काठमाडौँमा मन्दिर गुम्बाहरुमा उहाँ घुम्न जानुहुन्छ । त्यहाँबाट पनि प्रभावित हुने गरेको आनाले सुनाउनुभयो ।
अहिले ललितपुरमा कुञ्जको प्रस्तुतिमा उहाँको एकल कला प्रदर्शनी भइरहेको छ । चार वर्षदेखि बनाएका १५ वटा सिर्जना उहाँले प्रदर्शनीमा राख्नुभएको छ ।
आयोजक कुञ्जकी अध्यक्ष स्वेता चन्द उहाँले यहाँ प्रकृतिलाई सुन्दर ढंगले प्रस्तुत गर्नुभएको बताउनुभयो । कुञ्जले गरेको यो दोस्रो कला प्रदर्शनी हो ।
Vidoe likn : https://www.facebook.com/reel/1490863841839324
Anna Dhakal, Artist