काठमाडौँ, ४ असोज : जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी कारागा र सुधारगृहबाट भागेका मध्ये आजसम्म ६ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरु फर्किरहेका बताउनुभयो ।
कतिपय आफैँ गल्ती भयो भनेर फर्किरहेका छन् भने कतिपय प्रहरीले समातेर ल्याइएका छन् । पछिल्लो एक दिनमा मात्रै १४९ जना कैदीबन्दीलाई फर्काइएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका २८ वटा कारगार तथा ९ वटा बालसुधारगृहबाट गरी १४ हजार ५५५ जना कैदीहरु भागेका थिए ।
अझै ८ हजार २२६ जना कैदीबन्दी फरार रहेकाले खोजी जारी रहेको निर्देशक न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट ९६४ जना भागेका थिए । सम्पर्कमा आएका मध्ये कारागारबाट भागेका ५ हजार ९८७ तथा सुधार गृहतर्फका ३४१ जना रहेका छन् ।
देशभर ३० हजार ६३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि अहिले २१ हजार ९९९ जनामात्रै कैदी बन्दी रहेका छन् ।
गएको भदौ २४ गते जेनजी पुस्ताका नाममा भएको प्रदर्शनका क्रममा यसरी कैदीबन्दी फरार भएका थिए । नेपाल प्रहरीले हिरासतमा रहेका झण्डै २ हजार आरोपीसमेत फरार रहेका जनाएको छ ।
उनीहरुको खोजी जारी रहेको प्रहरी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताउनुभयो ।