काठमाडौँ, ३ असोज : जेनजी पुस्ताका नाममा भएको गत भदौ २३, २४ को आन्दोलनका कारण नेपालका २७ वटा कारागारबाट कैदीबन्दी भागेका छन् ।
यस्तै ९ वटा बालसुधार गृहबाट पनि भागेका कारागार व्यवस्थापन विभागले जानकारी गराएको छ । विभागका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ जना कैदीबन्दी भागेका विवरण सार्वजनिक भएको छ।
यस्तै एक हजार ४२२ मध्ये ९६४ जना बालसुधार गृहबाट भागेका विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनुपुरबाट कैदीबन्दी भागेका थिए ।
यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधार गृहबाट पनि भागेका उहाँले बताउनुभयो ।
कति फर्किए?
निर्देशक न्यौपानेले अहिलेसम्म कारागारबाट भागेका मध्ये ५ हजार ४९५ जना र बालसुधार गृहबाट भागेका मध्ये २४४ जना गरी ५ हजार ७३९ जना फिर्ता आएका छन् ।
अझै ८ हजार ८१६ जना फरार रहेको र खोजी जारी रहेको विभागले जनाएको छ ।
यता नेपाल प्रहरीको हिरासतमा रहेका मध्ये पनि धेरै फरार भएका छन् । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।