काठमाडौँ, १ असोज : केरा व्यवसायीहरुले अहिले नेपालमा उत्पादित केराले दशैँ तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् ।
नेपाल केरा उत्पादक महासंघ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरी पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजन रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई अनुरोध गरिएको बताउनुभयो ।
महासंघले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यावसायी संघलाई सम्बोधन गर्दै केरा आयत नगर्न पत्राचार नै गरेको उहाँले बताउनुभयो ।
महासंघले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनकरुपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केराबजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने अवस्था रहँदारहँदै पनि नेपाली बजारमा विदेशी केराहरु निर्वाधरुपमा आयात भइरहको उल्लेख गरेको छ ।
यसरी केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्षरुपमा असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक कृषकहरु विस्थापित हुनसक्नेसम्म खतरा बढ्नुका साथै सबै जिल्लाका केरा कृषकहरु आक्रोशित भई आन्दोलनमा जानसक्ने खतरा बढेको अध्यक्ष पन्तले जारी गर्नुभएकोे अनुरोधपत्रमा उल्लेख छ ।
अनुरोध पत्रमा भनिएको छ, “समयमै हामी सबै संघ, संस्था र व्यापारीहरुले देशको विषम् परिस्थितिलाई समेत मध्यनजर गर्दै यहाँहरुले सम्बन्धित व्यापारीहरुसँग समन्वय तथा छलफल गरी यही असोज ६ गतेभन्दा पछाडि कुनै पनि व्यापारीलाई भारतबाट केरा आयात नगर्न वा नगराउन अनुरोध गर्दछौँ । यदि व्यापारीहरुले बलजफती आयात गरेमा नेपाली केरा कृषक वा समर्थकहरुले पुर्याउन सक्ने क्षतिको जवाफदेही पनि यो महासंघ नहुने जानकारी तथा अनुरोध गर्दछौँ ।”
उक्त विषयमा ८ केरा उत्पादक किसानका ८ वटा समिति तथा प्रतिनिधिहरुले संयुक्त रुपमा सूचना जारी गरेका छन् ।
अध्यक्ष चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो, कैलाली केरा उत्पादक संघका अध्यक्ष दिपेन्द्र थारु , कञ्चनपुर केरा उत्पादक संघका अध्यक्ष सुरेन्द्र चौधरी, बर्दिया केरा उत्पादन संघका अध्यक्ष टोपलाल थारु, नवलपरासी केराउत्पादन संघका अध्यक्ष लक्खु विक, चितवन केरा उत्पादन संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलाली केरा उत्पादक संघका उपाध्यक्ष टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहित हस्ताक्षरित विज्ञप्तिमा केरा आयातमा रोक लगाउनसमेत माग गरिएको छ ।
