काठमाडौँ : सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद् विस्तारपछि बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले असोज १ गते शोक बिदा दिने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
उनले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्च गरी १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको पनि बताए।
जेनजी आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गरी राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको पनि मन्त्री अर्यालले जानकारी दिए।
हिंसात्मक घटना छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने
सरकारले जेनजी आन्दोलनमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।
सोमवार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
उनले यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको भन्दै सम्भवत पूर्व न्यायाधीशकै नेतृत्वमा गठन हुने जानकारी गराए।
सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने
सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
ठाउँ भने पछि खोजिने पनि उनले बताए।