चितवन : नेपालको तेस्रो तथा प्रमुख पर्यटकीय गन्तव्य सौराहामा शुक्रवारदेखि १९औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ।
सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा आयोजनाभएको महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ। यो विश्वकै फरक खालको महोत्सव हो । महोत्सवले अफ सिजनमा पर्यटक आगमन वृत्ति गर्न सहयोग पुग्ने महोत्सव संयोजक गुणराज थपलिया बताउनुहुन्छ ।
महोत्सव शुक्रवार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले उद्घाटन गर्नुभएको थियो । उहाँले हात्तीलाई हाम्रो साथी भएको स्मरण गराउनुभयो । विश्वमा घट्दै गएको हात्तीको संरक्षण अब मानवको जिम्मेवारी भएको र प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको बताउनुभयो ।
भविष्यमा हात्तीपालन र संरक्षण गर्ने व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उहाँले जानकारी दिनुभयो ।

आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउनु हो।
हाल करिब ४० प्रतिशत हाराहारी रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सव अवधिमा २०–२५ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवको अवसरमा हात्ती केवल जनावर नभई नेपालको संस्कृति र पहिचानको अभिन्न अंग भएको उल्लेख गर्नुभयो ।
उहाँले विश्वले नेपाललाई प्रकृतिप्रधान देशको रूपमा मात्र नभई हात्ती महोत्सवमार्फत नेपालको सांस्कृतिक सम्पदासँग जोडिएको पनि बताउनुभयो ।
क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका छन् ।

महोत्सवअन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्तीको पूजा गर्ने कार्यक्रम रहने आयोजकले जनाएको छ । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी छन् ।
आयोजकले महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणको सन्देश विश्वसामु पुर्याउने अपेक्षा राखेको छ।
