काठमाडौँ, १० पुस : नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागूऔषध तस्करी गरिरहेका एकसहित ३ जना विदेशीलाई पक्राउ गरेको छ ।
एकजनाको भने पेटभित्रबाट लागूऔषध निकालिएको ब्यूरोका सहायक प्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो ।
हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकहरुलाई निगरानी गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न अन्तरराष्ट्रिय गिरोहका ३ जना विदेशी नागरिकहरुलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।
लाओसबाट थाईल्याण्ड हुँदै काठमाडौँ आएकी थाई नागरिक वर्ष ४० की रुसानी कामालाई विशेष स्रोतबाट प्राप्त सूचनाका आधारमा सिनामङ्गलस्थित एक होटलमा फेला पारी खानतलासी गर्दा १२ वटा प्लाष्टिक कोटेट क्याप्सुल भित्रलागुऔषध कोकिन बरामद गरिएको थियो ।
सहायक प्रवक्ता निरौलाले भन्नुभयो, “थप अनुसन्धानका सिलसिलामा उनले मुखबाट निलेर पेटभित्र लुकाइ ल्याएको अन्य २९ वटा क्याप्सुलसमेत निकालियो, अस्पतालमा स्वास्थ्यकर्मीको सहयोगबाट उक्त क्याप्सुल निकाएिको छ, उनीसँग रहेको ४१ प्लाष्टिक कोटेट क्याप्सुल लागुऔषधको तौल ५५० ग्राम रहेको छ ।”
उहाँले यस्तै लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५५ वर्षका जेभिएरलाई निगरानी गर्दै जाने क्रममा काठमाडौँको सिनामङ्गलस्थित सडकबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उनको साथमा रहेको सुटकेस रिसिभ गर्न आएका अर्का भारतीय नागरिक वर्ष २१ का मुर्सलिन हुसेनलाई समेत पक्राउ गरिएको छ ।
उनीहरुमाथि खानतलासी गर्दा उक्त सुटकेशभित्र रहेको कफीको प्याकेटमा लुकाई राखेको अवस्थामा लागुऔषध कोकिन ३ किलो ७५० ग्राम रहेको पनि सहायक प्रवक्ता निरौलाले बताउनुभयो ।
ब्यूरोले उनीहरुलाई आज अदालतमा पेश गरिएकामा अदालतबाट म्याद थप भई अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।