काठमाडौँ, २६ मंसिर : पोखरामा बसेर कला सिर्जनामा जीवन विताउनुभएका कलाकार आलोक गुरुङको आज निधन भएको छ ।
विसं २०१० सालमा तनहुँको क्याबिन गाउँमा जन्मनुभएका गुरुङको ७२ वर्षको उमेरमा आज निधन भएको हो ।
उहाँ दम र मुटुको रोगबाट प्रभावित हुनुहुन्थ्यो । सोही कारण उहाँको आज उपचारका क्रममा अस्पतालमा निधन भएको उहाँका चेला अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।
केही अघि उहाँमा कोरोना पनि भएको थियो । त्यसपछि उहाँ दुर्घटनामा पर्नुभएको थियो । उहाँकी एक श्रीमती र २ छोरी छन् ।
स्वअध्ययनबाट चित्र सिर्जनामा लाग्नुभएका गुरुङ पोट्रेट र लाईभ डेमोस्ट्रेशन विशेषता बोक्नुभएका कलाकार हुनुहुन्थ्यो । अइल र वाटरकलर प्रयोग गर्न रुचाउने गुरुङले ललितकलाका क्षेत्रमा आफ्नो जीवन समर्पण गर्नुभयो ।
उहाँले पोखरामा बसेर चित्रकलामा धेरै चेलाहरु उत्पादन गर्नुभएका र अहिलेका पोखराका युवा कलाकार धेरै उहाँकै उत्पादन भएका कलाकार एनबी गुरुङले बताउनुभयो । राजपिरवारका चित्र बनाउनने मुद्र्धन्य कलाकार गुरुङ ‘कला भनेको मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो पनि हो’ भन्ने मान्यता राख्नुहन्थ्यो ।
मुहारचित्रसँगै दृश्यचित्रमा पनि पोख्त चित्रकार गुरुङ दृश्यचित्रमा होस् कि व्यक्तिचित्रमा रङको सुन्दर संयोजन गर्न सिपालु सर्जक भएको कला लेखक ज्ञानेन्द्र दिवस उल्लेख गर्नुभएको छ ।
उहाँ नेपाल सरकारबाट क्षेत्रीय प्रतिभा पुरस्कार सन् २०१७ द्वारा पुरस्कृत हुनुभयो। त्यस्तै ‘इन्टरनेशनल वाटरकलर सोसाइटी’ नेपालद्वारा सन् २०१८ मा उहाँ सम्मानित हुनुभएको थियो । यहाँले गण्डकी प्रज्ञा कला सम्मान-२०८० पनि प्राप्त गर्नुभएको थियो।
प्रज्ञा कला सम्मान-२०८० को दृष्य
सामूहिक कलाकार्यशाला अन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँहरूमा आफ्नो कलाप्रदर्शनी गर्नुभएको छ।
बुबाआमा रामशरण गुरुङ तथा वीर्मादेवी गुरुङको कोखबाट जन्मनुभएका कलाकार आलोक गुरुङको बुबा भारतीय सेनामा हुनुहुन्थ्यो। त्यसैले उहाँको बाल्यकाल भारतका विभिन्न स्थानहरूमा बित्यो। तनहुँको क्यामिन गाउँस्थित आरुबोट उहाँको पुर्ख्यौली थलो थियो। उहाँका बुबा, बाजे सबै लाहुरे हुनुहुन्थ्यो।
आफूले पनि एक महिना ब्रिटिस आर्मी अनि दुई वर्ष भारतीय सेनामा भर्ती भएर लाहुरे जीवनको अनुभव सँगालेको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार लाहुरे जीवनलाई चटक्कै त्यागेर उहाँ नेपाल फर्किनुभएको लेखक विवशले एउटा लेखक उल्लेख गर्नभएको छ ।
त्यसपछि उहाँ अनवरत रूपमा कलासिर्जनामा समर्पित रहँदै आउनुभएको थियो। बुबाको लाहुरे जीवनले गर्दा त्यहाँका सबै जग्गाजमिन उहाँका काकाहरूलाई जिम्मा लगाएर सपरिवार भारतमै धेरै वर्ष बस्नु भएको थियो।
सुरुका दिनहरूमा आफूले राजा वीरेन्द्र र रानी ऐश्वर्यको कैयौँ पोट्रेट बनाएको थियो । उहाँको दक्षता देखेरै उहाँलाई सो कामको जिम्मेवारी तत्कालीन जिल्ला प्रशासकहरूले खोजीखोजी दिने गरेको थियो । ती चित्र उहाँले विभिन्न जिल्लामै गएर बनाउनुभयो भने कतिचाहिँ माग भएर आएपछि बनाउनुभएको थियो।