काठमाडौँ, १७ मङ्सिर : बैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुने क्रम बढिरहेको छ ।
काठमाडौँ : उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगिएको भनेर कार्यालयमा दैनिक ४,५ वटा उजुरी आउने गरेको छ ।
कार्यायलका सूचना अधिकारी एबं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबीन गरी पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको र केही परिणामहरु पनि आइरहेको बताउनुभयो ।
उहाँले आजमात्रै पनि यसैगरी करोडौँ ठगीको आरोपमा केही व्यक्तिलाई पक्राउ गरी कारबाहीका लागि प्रहरी कार्यालयहरुमा पठाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर पनि उजुरी आइरहेको र यसरी रोजगारीका नाममा भएका ठगिका घटना बढ्दो नै छ ।”
उहाँले पीडितहरुबाट एक करोड २५ लाखबढी ठगी गरेका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको पनि बताउनुभयो । यसरी पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्यामचन्द्र अधिकारी रहेका छन् ।
उहाँले अधिकारीलाई अल्बानीया, अजरबैजान मेमोडोनिया सर्वियालगायतका देशहरु पठाउने भनी मानिसहरुबाट १ करोड २५ लाख ७८ हजारभन्दा बढी पैसा उठाएर ठगी गरेको उजुरीमा पक्राउ गरिएको बताउनुभयो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने अन्य दुई जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको उहाँको भनाइ छ । नवलपरासी घर भई हाल काठमडौँ बस्ने दिलबहादुर सारु मगरले यसैगरी सर्विया पठाउने भनेर ४ लाख ५० हजार ठगी गरेको उजुरीपछि पक्राउ गरिएको छ ।
यस्तै सर्लाही घर भई ललितपुरका चन्द्रभूषण प्रसादलाई पनि ३ लाख ८० हजार ठगीको आरोपमा पक्राउ गरिएको छ । उनले अब्लानिया पठाउने भनेर रकम ठगी गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु तीनैजनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।