काठमाडौँ, १५ मङ्सिर : प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनसहित तीन जनामाथि अनुसन्धान गर्न प्रहरीले ५ दिनको म्याद पाएको छ ।
उनीहरुलाई आज काठमाडौँ जिल्ला अदालतबाट पेश गरिएकामा अदालतले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
म्याद थप भएकाहरुमा शेरचनसहित बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन् । उनीहरुलाई सिआइबीले हिजो मङ्सिर १४ गते पक्राउ गरेको थियो ।
यसअघि सिआइबीले कात्तिक २२ मा बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात बरामद गरेको थियो ।
प्रवक्ता श्रेष्ठले प्रतिवादी कुसुम लामासमेतको उजुरीका आधारमा ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञटोली समेतले अध्ययन विश्लेषण गर्दा शेरचनसहितका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेको आरोप छ ।
उहाँले अहिले तीनैजनालाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान कार्य जारी रहेको सिआइबीले जनाएको छ ।