कलाकार उत्तर डंगाेलकाे चित्रकला
काठमाडौँ, १५ मङ्सिर : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँको नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका चित्रहरु प्रदर्शन गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र शुष्मा आर्ट ग्यालरीको आयोजनामा भएको अन्तराष्ट्रिय कला प्रदर्शनीमा प्रस्तुत भएका कलाहरु संस्कृति तथा सम्पदामा केन्द्रित रहयो ।
कलामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिन उक्त प्रदर्शनी गरिएको कलाकार शुष्माराज भण्डारीले बताउनुभयो । उक्त प्रदर्शनीमा १० देशका कलाकारका ६० वटा कलाहरु प्रस्तुत भएको छन् ।
हेरिटेज शीर्षकमा गरिएको प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गर्नुभएका कलाकार उत्तम डंगोलले पशुपतिलाई केन्द्रविन्दुमा राखेर लोककलाका आधारमा क्यान्भास भर्नुभएको छ । पशुपति, बौद्ध र स्वयम्भूलाई एउटै क्यान्भासमा समेटेर उहाँले चित्र सिर्जना गर्नुभएको छ ।
कलाकार डंगोलले भन्नुभयो, “पशुपतिमा देखिने विषयहरु हनुमान, भैरव, नाग देवता, गणेशलाई फोकस गरेको छु, हिजोको लोक कलालाई क्यान्भासमा कन्भर्ट गरे र आधुनिक शैलीमा प्रस्तुत गरें, एक्रेलिक माध्याममा वाटरप्रुफ कलामा सम्पदालाई देखाएको हुँ ।” उहाँको कलाको पृष्टभूमिमा देखिएको हिम श्रृंखला आफैँमा सुन्दर देखिन्छ ।

अइल कलरमा कला प्रस्तुत गर्नुभएकी अर्की कलाकार ज्योति खड्काले पुरानो काठमाडौँलाई झल्काउनुभएको छ । महाबौद्धको स्तुपालाई मुख्य विषय बनाएर त्यहाँको पूराना संस्कृति गाउँ र परम्परालाई उहाँले देखाउनुभयो ।
उहाँले भन्नुभयो, “परम्परागत कलामा प्राय मानिसहरुले घर, मन्दिर, काठका कलात्मक प्रस्तुतिमा कलाकारको ध्यान जाने गर्छ, तर मैले त्यसलाई छाडेर पुरानो जुन हराएको संस्कृतिलाई उठान गरेकी छु ।”
पुरानो संरचना किन नदेखाउने भनेर आफूले पूरानो काठमाडौँ राम्रो छ । भुल्नुहुँदैन भनेर देखाउन देखाएकी उहाँले बताउनुभयो ।
उक्त कलाको संयोजन गर्नुभएकी कलाकार शुष्माराज भण्डारी गणेशको सिरिज प्रस्तुत गर्नुहुन्छ । उहाँले पनि उक्त प्रदर्शनीमा गणेशको चित्रलाई क्यान्भासमा उतार्नुभएको छ ।
उहाँको चित्र एक लाखमा बिक्रीसमेत भइरहेको छ । अन्य ५/६ वटा चित्रहरु बिक्री भएको पनि उहाँले बताउनुभयो ।
नेपालसहित भारत, बंगलादेश, घाना, बेलायत, अमेरिका, जापान, रसिया, इन्डोनेशियालगायत देशका ६० वटा कला सिर्जना यहाँ प्रस्तुत भए । बाहिर देशबाट १५ वटा विदेशी कलाकारका कला प्रस्तुति दिएका छन् ।
नेपालका वरिष्ठ कलाकार राधेश्याम मूल्मी, गोविन्द डंगोल, विजय थापालगायतका कला समेत यहाँ समेटिएको थियो ।