काठमाडौँ, १४ मङ्सिर : नेपाल प्रहरीको तथ्याङ्कले आफन्त र नाता पर्नेहरुबाटै महिलाहरु धेरै हिंसामा पर्ने गरेको देखाएको छ ।
प्रहरी प्रधान कार्यालयले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको तथ्यपत्रबारे प्रस्तुतिकरण दिनुभयो ।
उहाँले घरेलु हिंसाको दर पनि अत्याधिक रहेकाले आफैँ र घरपरिवारबाट सुधार हुन जरुरी रहेको बताउनुभयो ।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा आज प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले हिंसाका घटना बढ्नुका साथै अझै उजुरी दिने क्रम पनि बढेको बताउनुभयो । पहिले महिलाहरु हिंसा लुकाएर राख्ने गरेकामा विस्तारै खुल्दै गएकाले पनि हिंसाका उजुरी बढिरहेको उहाँले बताउनुभयो ।
यो तथ्यंकले अझै पनि सामुहिक प्रयासमार्फत हिंसा न्यूनीकरण लाग्न हामी सबै एकजुट हुनुपर्छ भन्ने देखाएको उहाँको भनाइ थियो ।
उहाँले अनुसन्धान र कारबाही जारी रहे पनि अपराधका घटनाको गति नरोकिएकोमा चिन्ता प्रकट गर्दै त्यसतर्फ हामी सबैले प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘पढेलेखेकै मान्छेमाथि र पढेलेखेकै मान्छेबाट हिँसाका घटना भइरहेका छन्, त्यसैले शिक्षा प्रणालीमा सभ्यताको विषय घुसाउन जरुरी देखिएको छ, यसतर्फ ध्यान जानु जरुरुी छ’, उहाँले भन्नुभयो ।
विभागकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सूचना प्रविधिको विकाससँगै हिंसाका घटनामा बढोत्तरी भएको उल्लेख गर्दै यसलाई रोक्न प्रहरी एक्लैले नसक्ने बताउनुभयो । आर्थिक समस्या र परनिर्भरताका कारण अझै पनि महिलाहरु प्रहरीमा उजुरी दिन डराइरहेकोतर्फ सबै सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा उहाँले अहिले प्रहरीले देशभरका २६० यूनिटबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा प्रदान गरिरहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागकी उपसचिव कविता अर्यालले महिला हिंसाबाट कुनै प्रदेश र कुनै उमेरसमूह अछूतो नरहेको बताउँदै नातागोताबाटै हिंसा हुनु अति चुनौतीपूर्ण विषय भएको बताउनुभयो ।
उहाँले अहिले पनि २८ प्रतिशत मात्रै पीडित महिलाहरु हिंसा भयो भनेर मद्दत माग्न आउने गरेको तथ्यंक रहेको उल्लेख गर्दै बाँकी समाजमै लुकेर रहनु डरलाग्दो कुरा भएको बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराईले अभियान अभियानकै रुपमा नभई हिंसारहित समाज निर्माणका लागि भएको बताउँदै न्यायको पहिलो ढोका नै प्रहरी भएकाले प्रहरीको भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो ।
गृह मन्त्रालयकी उपसचिव मिना अर्यालले महिलामाथिका हिंसा बढिरहेको भन्दै समीक्षा गरी न्यूनीकरणमा लाग्न सबैमा अपिल गनुभयो । प्रविधिले थप चुनौती थपिरहेको उल्लेख गर्दै उहाँले आवश्यक रणनीति बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
राष्ट्रिय महिला आयोगकी रोशनीदेवी कार्कीले खबर गरौँ ११४५ अभियान चलाइरहेको जानकारी दिँदै हिंसाका घटनामा होस्टाइल हुने समस्या विकराल रहेको उल्लेख गर्नुभयो । त्यसैले प्रभावितमैत्री सेवा दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।