काठमाडौँ, १३ मङ्सिर : जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएका संघसंस्थाका पदाधिकारीहरुले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढेपछि छानबिन थालिएको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भूषालले अनियमितताको गुनासो बढेपछि छानबिन थालिएको बताउनुभयो ।
उहाँका अनुसार अहिले काठमाडौँमा दर्ता भएका केही संघ–संस्थाहरुमा विधान विपरितका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढंगबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेकोलगायतका विषयहरुमा पटकपटक गुनासा आएका छन् । ती गुनासा तथा उजुरी सम्बोधन गर्न समिति बनाएरै छानबिन थालेको पनि उहाँले जानकारी दिनुभएको छ।
उहाँले त्यस प्रकारको संघ–संस्थाहरुको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको र समितिले काम थालेको पनि जानकारी दिनुभयो।
प्रशासन कार्यालयले भनेको छ, ‘संस्थाका विवादित विषयमा समितिले छानबिन गरी प्रतिवेदन पेश गरे पश्चात् मात्र त्यस प्रकृतिका संस्थासम्बन्धी थप आवश्यक निर्णय हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
अन्य संस्थाहरुको हकमा नियमितरुपमा संस्था दर्ता, नविकरण जस्ता कार्यहरु निरन्तर भइरहेको पनि उहाँले बताउनुभयो।