काठमाडौँ, ७ मङ्सिर : नेपाल लितकला प्रज्ञा प्रतिषठनले हरेक प्रदेशका आयोजना गरिने प्रादेशिक ललितकला प्रदर्शनीको तयारी थालेको छ ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले प्रादेशिक कला प्रदर्शनीको तयारीका साथै कला र कलाकार सर्वेक्षण, प्रादेशिक तथा राष्ट्रिय ललितकलामा पुरस्कृत कलाकृतिको डिजिटल प्रदर्शनी, प्रदेश तथा स्थानीय तह र विभिन्न समुदायमा रहेका कला र कलाकारको पहिचान तथा तिनको महत्वलाई उजागर गर्न प्रदेश तथा जिल्लाहरुमा अन्तक्र्रिया र गोष्ठीसँगै कार्यशालासमेत आयोजना गर्न थालिएको बताउनुभयो ।
पश्चिम नेपालका विभिन्न जिल्लामा उक्त कार्यक्रम आयोजना गरी अहिले प्रतिष्ठानको टोली पूर्वी नेपाल लागेको छ । प्रतिष्ठानले देशभरी गरेका चित्रकला, मूर्तिकला, लोककला, शिल्प–हस्तकला, परम्परागत कला, वास्तुकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका कलाका विविध पक्षको पहिचानसँगै संरक्षण, प्रवर्धन र विकास गर्ने लक्ष्यका साथ देशभर गतिविधि जारी रहेको जनाएको छ ।
प्रादेशिक कला प्रदर्शनी सकिएपछि काठमाडौँमा राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिन्छ । यसले कलाको महोत्सवका रुपमा हेर्ने गरिएको छ ।
प्रतिष्ठानको टोलीमा सदस्य सचिव देवेन्द्र थुम्केली, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी र शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङसहितको टोली अहिले पूर्वी नेपालका िवभिन्न जिल्लामा छ ।
उक्त अभियानअन्तरगत मकवानपुर र पर्सामा विविध कार्यक्रम सम्पन्न भएको छ । प्रदेश तथा पालिकामा स्थापित संघसंस्थासँग सहकार्य गर्दै ललितकलाका विविध गतिविधिलाई अगाडि बढाउने लक्ष्यका साथ मधेश प्रदेशको पर्सा वीरगञ्जमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकला विषयक अन्तरक्रिया तथा एक दिवसीय भोजपुरी लोककला कार्यशाला आयोजना गरेको छ ।
यही सन्दर्भमा त्यसअघि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा स्याटर्डे प्लेन एअर हेटौँडा शाखा र मकवानपुर हस्तकला सङ्घको आयोजना तथा लायन्स क्लब अफ हेटौँडा, न्यु रेन्वो आर्ट ग्यालरी, विश्व आर्ट र रोट्रयाक्ट क्लब अफ मकवानपुरको सहयोगमा शुक्रवार लायन्स क्लब अफ हेटौँडा, कर्रा, हेटौँडा–९ मा अन्तक्र्रिया कार्यक्रम आयोजना भएको थियो ।
आजदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा कलासम्बन्धीका कार्यक्रम हुने प्रतिष्ठानले जानकारी दिएको छ ।