काठमाडौँ, ६ मङ्सिर : इन्टरपोलको ९३औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी नेतृत्वको टोली आज शनिवार मोरक्को प्रस्थान गरेको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मङ्सिर ८ गतेदेखि ११ गतेसम्म उक्त महासभामा चल्ने हुने छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्कासमेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उक्त महासभामा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ ।
साथै इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्वमा सहभागी हुने प्रतिनिधिमण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको प्हरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।