नारायण ढुङ्गाना
काठमाडौँ, ५ मङ्सिर : यसपाली कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो । जसले मौसम चिसो बढाएन मात्रै ठाउँठाउँमा हिमपात गरायो । धानबालीमा पनि ठूलो क्षति गरायो । ठाठँठाएँको जनजीवन प्रभावित बनायो ।
अहिले हेर्दा गत वर्षको मङ्सिरको तुलनामा यसपाली बढी चिसो महसुस भएको छ । अब शीलतहर र हिमपातको समय सुरु भएकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपातसम्बन्धी पूर्व तयारी तथा राष्ट्रिय प्रतिकर्या कार्ययोजना तयार पारिसकेको छ ।
सोही कार्ययोजनामुताविक हरेक जिल्लाले आफ्नो भौगोलिक अवस्था हिमपात र शीतलहरको सम्भावित जोखिम तथा अन्य कारक तत्वहरुलाई समेत केन्द्रमा राखेर धमाधम शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिरहेका छन् । धेरै जसो जिल्लाहरुले अबको एक हप्तामै कार्ययोजना तयार पारी लागु गर्ने गरी काम भइरहेको जानकारी गराएका प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय कार्ययोजना जिल्लामा गइसकेको छ, भर्खरै हामीले छलफल पनि गर्यौँ, त्यही आधारमा जिल्ला विपद व्यवस्थापन समितिले आफ्नो काम गरिरहेका छन् । प्राधिकरणसँगको छलफलमा एक हप्ताभित्र लागू गर्ने गरी काम भइरहेको जिल्लाका प्रजिअहरुले जानकारी गराउनुभएका छ । यसपाली हामीले समयमै प्रतिकार्य योजना बनाएर लागु गरेका छौँ ।”
नेपालको तराई मधेशका जिल्लाहरुमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको असर मङ्सिरदेखि फागुनसम्म हुन्छ । यसबाट विपन्न वर्गका व्यक्ति, पशुपन्छी, हिउँदो खेतीबाली बढी प्रभावित हुने गरेका छन् । वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती, अपांगता भएकाहरु र दीर्घरोगीलाई बढी समस्या हुने भएकाले यो वेलामा उहाँहरुलाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ । सोही आधारमा कार्ययोजना बनाइएको जिल्लाका प्रजिअहरुले बताउनुभएको छ ।
राष्ट्रिय कर्यायोजनाका आधारमा जिल्ला जिल्लामा प्रतिकार्य योजनाहरु निर्माण भइरहेका छन् । हिमपात र शीतलहर प्रभावित केही जिल्लाका प्रजिअहरुले पनि चुस्त तयारी भएको बताउनुभएको छ ।
हिमपातबाट प्रभावित हुने जिल्ला मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल कात्तिक १० र ११ गतेको बेमौसमी हिमपातले तिलिचो र थोराङलापासमा पर्यटकहरु प्रभावित बनाएको स्मरण गर्दै ८०० जति पदयात्रीलाई उद्धार गर्नु परेको सुनाउनुहुन्छ ।
अब पनि त्यस्तै हिमपात हुने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो । त्यसवेला सो क्षेत्रमा २ जना भारतीय नागरिकको दुखद निधन भएको थियो ।
उहाँका अनुसार गएको १५ वर्षको अवधिमा २०७१ सालमा १५ जनाको निधन भएको र अन्य समयमा भने ठूलो मानवीय क्षतिहुनबाट जोगिएको छ । यसपाली पनि मानवीय क्षति नहोस् भनेर समयमै हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भइरहेको र केही दिनमै लागू हुने उहाँ बताउनुहुन्छ ।
“अब हामीले टुरिष्ट गाईडहरु नभएका पर्यटकलाई यो बेला पठाउँदैनौँ, अन्य समूहमै पठाउने छौँ, विद्युत र फोनका समस्याले गर्दा केही कठिनाई हुने हुँदा सोही अनुसारको प्रतिकार्य योजना बनेको र एक हप्तामै लागू हुन्छ”, उहाँले भन्नुभयो ।
यस्तै हिमपातबाट प्रभावित हुने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले केही दिनमै प्रतिकार्य योजना तयार भएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “हिमबाढी र हिम पहिरोमै हामी प्रतिकार्य योजना केन्द्रित गर्छौँ, यहाँ रेस्क्यू टिमसहति ड्रोन र प्रहरी जनशक्ति थप भएमा प्रतिकार्यका लागि सहज हुन्छ, त्यसको प्रयासमा लागिरहेका छौँ ।” कात्तिकको हिमपातमा हवाईमार्ग रोकिँदा पर्यटक अड्किएर व्यवस्थापनमा चुनौती भएको पनि उहाँले सुनाउनुभयो ।
यता शीतलहर प्रभावित जिल्ला महोत्तरी र रौतहटमा पनि पनि अन्तिम तयारी गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सम्भावित जोखिम क्षेत्र पहिचान गरी प्रतिकार्य योजना निर्माण गरिएको बताउनुहुन्छ ।
रौतहटका प्रजिअ दिनेश सागर भूषाल बागमती लालबकैया नदीले चिरेको रौतहट बाढीसँगै हुस्सु शीतलरबाट समेत प्रभावित जिल्ला भएको बताउनुहुन्छ । उहाँ शीतलहरका समयमा रौतहटमा चिसोलगायत घुरताप्दा विभिन्न कारणले जोखिम बढ्नुका साथै सोही समयमा दुर्घटनासमेत दोब्बरले बढ्ने बताउनुहुन्छ ।
यस्तै निमोनियाका विरामी नौ गुणा वृद्धि हुने भएकाले सोही अनुसारको तयारी गरी प्रतिकार्य योजना अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
प्राधिकरणका अनुसार शीतलहरबाट कोशीका झापा, सुनसरी, मोरङ, मधेश प्रदेशमा सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सा, बागमतीमा चितवन, गण्डकीमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व), लुम्बिनीमा नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके बर्दिया र सुदुरपश्चिममा कैलाली र कञ्चनपुर प्रभावित हुने अनुमान गरिएको छ ।
यस्तै हिमपातबाट कोशीका ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम, ओखल्ढुंगा, भोजुरको माथिल्लो क्षेत्र प्रभावित हुने अनुमान गरिएको छ ।
यस्तै बागमतीको दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा र धादिङ गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, बाग्लुङ, कास्की, लुम्बिनी प्रदेशको रुकुमपूर्व, कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र सुदुरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला बैतडी र डडेलधुरा जोखिममा रहेका छन् ।
गृहमन्त्री ओमप्रकास अर्यालले ती क्षेत्रहरुमा कुनै पनि क्षति बेहोर्नुनपर्ने गरी आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशन समेत दिनुभएको छ ।