–नारायण ढुङ्गाना
काठमाडौँ, ४ मंसिर : प्रविधिको विकाससँगै विश्वमा धेरै परिवर्तनहरु भएका छन् । परम्परागत रुपमा मानिसले बनाउने सामानहरु प्रविधिको सहयोगमा एकै छिनमा तयार हुन्छन् । कलामा पनि प्रविधिले आमुल परिवर्तन ल्याइदिएको छ ।
काठमाडौँ विश्वविद्यालयका १६ जना विद्यार्थीले भने प्रविधिको विकासले फड्को मार्नु अघि कलाकारहरुले कला सिर्जनामा के कस्ता सामाग्री प्रयोग गर्थे, चित्र मूर्तिहरु कसरी सिर्जना हुन्थ्ये भन्ने कुरालाई देखाउने प्रयास गरेका छन् ।
“द म्याटरियालिटी अफ आर्ट, इफर्मल प्राक्टिसेज इन द नेपाली आर्ट वल्र्ड” शीर्षकमा उनीहरुले बनाएका कला अहिले पाटन दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको छ । उनीहरुले परम्परागत रुपमा रङहरु कसरी बनाइन्थे र प्रयोग हुन्थ्यो भनेर पनि देखाउने प्रयास गरेका छन् ।
दैनिक जीवनमा प्रयोग हुने सामाग्रीलाई उनीहरुले कलामार्फत उजागर गरिदिएका छन् । चित्रकारहरुले परम्परागत रुपमा कसरी कला सिर्जना गर्दथे भन्ने कुराहरुलाई अध्ययन गरेरै उनीहरुले चित्र तयार पारी प्रदर्शन गरेका काठमाडौँ विश्वविद्यालयका अध्यापक अनिल शाही बताउनुहुन्छ ।
प्राय काठमाडौँ उपत्यकाको नेवारी संस्कृतिलाई बढी जोड दिइएको उक्त कला प्रदर्शनीमा घण्टाघरदेखि, गाइजात्रा, लल्मी पूजा, भाईपुजा, नेवारहरुको जङ्कुमा प्रयोग गरिने कलाकृति निर्माण गरेर प्रदर्शन गरिएको छ ।

पूर्वजहरुले प्रयोग गर्ने ब्लक प्रिन्ट, लक्ष्मी पूजामा लक्ष्मीको पोष्टर बनाएर पुरानो परम्परामा गरिने कामलाई यहाँ विद्यार्थीहरुले प्रस्तुत गरेका छन् ।
अध्यापक अनिल शाही भन्नुहुन्छ, “जस्तै जंकुमा विभिन्न देवीदेवताहरुलाई साछीका लागि आह्वान गर्नुपर्ने रहेछ । त्यो साछीका रुपमा माटाका भाँडा बनाएर इन्स्टलेशन गरिएको छ ।
काठमा कुँदेर मसी छाप्ने र कागजमा चित्र बनाउने चलन पुरानो जमानामा थियो । अहिले उक्त शैली प्रयोग नभएकाले पुरानो समयमा कसरी काम गरिन्छ भनेर अग्रजहरुलाई भेटेर अध्ययन गरी विद्यार्थीहरुले कला सिर्जना गरेका छन् ।
अग्रजहरुले प्रयोग गरेका प्रविधिहरुलाई यहाँ विद्यार्थीहरुले उठान गरेर कला प्रदर्शनी गर्नु महत्वपूर्ण भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “यसले एकत विद्यार्थीका लागि अध्ययनको चरण भयो भने अर्काै पुराना कुराहरु विद्यार्थीले सिक्न पाउँदा पुस्तान्तरणमा समेत योगदान हुन्छ, अझै अग्रजसँग भेटेर अध्ययन गरेर युवा पुस्ताले सिक्नु भनेको आफैँमा नयाँ सन्देश हो ।”
विद्यार्थीहरुले अग्रज कलाकारहरु मदन चित्रकार, सूर्यवहादुर चित्रकार, लोक चित्रकारसँग सोधेर सामाग्रीहरु संकलन र चित्र सिर्जना गरेका छन् । उहाँहरुको सिर्जना समेत यहाँ प्रदर्शनमा छन् । काठमाडौँ वश्वविद्यालयको चौथो सेमेस्टरमा पढ्ने १६ जना विद्यार्थीले सामुहिक रुपमा यसरी कला सिर्जना गरेका हुन्।
एउटै कपडामा समुहमा चित्र सिर्जना गरिएको छ । पहिले पनि समुहमा चित्र बनाउने चलन थियो, त्यसैले अहिले पनि त्यही अनुसार प्रयोग गरिएको छ ।
नेवारी संस्कृति गाइजात्रामा प्रयोग हुने ‘सपारु’लाई यहाँ सुन्दररुपमा प्रदर्शन गरिएको छ । गाईजात्रा निकाल्दा गाईको सांकेतिकरुपमा मुकुण्डो प्रयाग गरिन्छ । त्यही देखाइएको छ ।
अध्यापक शाहीले यो मुख्य गरी सिकाइका माध्यामबाट समाज कसरी चलिरहेको छ भनेर दखाउन खोजिएको बताउनुभयो । समाज कसरी परिवर्तन भएको छ । नेवार समुदायको प्रचलन के रहेछ भनेर सिकाई विद्यार्थीहरुका लागि पनि नयाँ अभ्यास भएको छ ।