काठमाडौँ, ३ मङ्सिर : सिंहदरबारमा आज राति बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सबै सुरक्षा निकायको समन्वयमा देशभरको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ ।
उक्त बैठकले ३ बुँदे निर्णयसहित सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
समितिको बैठकले शान्ति सुरक्षालाई प्रभावकारी बनाउँदै निर्वाचनको वातावरण बनाउन आवश्यक सुरक्षा प्रबन्ध गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव आनन्द काफ्लेले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले अहिले राती सार्वजनकि गरेको समितिको तीन बुँदे निर्णयमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायहरूबाट सुरक्षा चुनौतीको प्रस्तुति, छलफल गरी सोको समीक्षा र विश्लेषणसमेत गरिएको उल्लेख छ ।
यस्तै समितिको निर्णयमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतमा सम्पन्न निर्वाचनको अनुभव र सिकाई समेतको आधारमा मजबुत सुरक्षा व्यवस्था गर्न “प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२” तयार भइ चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूमा पठाई कार्यान्वयन चरणमा रहेको उल्लेख छ ।
निर्वाचन सुरक्षा योजना, २०८२ मा प्रदेशस्तरमा प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्थित सबै सुरक्षा निकायका प्रमुखहरू र आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव सदस्य साथै सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी आमन्त्रित रहने गरी प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेल रहने प्रबन्ध रहेकाले सबै प्रदेशका प्रमुख सचिवलाई सो मुताविक कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन गरी निर्वाचन सुरक्षा व्यवस्थापनमा सक्रियरूपमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत लेखी पठाउने निर्णय पनि समितिले गरेको छ ।
यस्तै समितिले वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायहरूले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि गरेको प्रवक्ता काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार बैठकमा गृह सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आज विहान सिमरामा भएको घटनापछि समितिको बैठक बसेको हो ।