काठमाडौँ, २८ कात्तिक : विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने भनेर अनलाइन्बाटै सम्झौता गरी ठगी गरेको आरोपमा सुर्खेत बराहताल गाउँपालिका ३ घर भई अल्टिट्यूड राईडर्स प्रा.लि.का संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले उनलाई रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाइएको जानकारी दिनुभयो ।
प्रवक्ता अवस्थीले भन्नुभयो, “ पर्यटकको जाहेरीपछि पक्राउ गरी उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको थियो, अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ ।”
उहाँका अनुसार अनुसन्धानमा सिंञ्जालीले नेपालमा मेरो अल्टिट्यूड राईडर्स प्रालि. कम्पनी रहेको र सो कम्पनीले तपाईहरुलाई नेपालस्थित मोटरसाईकल राईडको व्यवस्था गरिदिने छ भनी म्यासेन्जरमा कुराकानी गरी पोल्यान्डका १३ जना पर्यटकलाई विश्वासमा पारेका खुलेको छ ।
उनका अनुसार सिञ्जाली राईडर्सको लागि मोटरसाईकल राईड, खाना, बस्न, अन्य सपोर्टसमेतको सम्पूर्ण प्याकेजसहित सेवा दिने सर्तमा नेपाल भ्रमणको लागि सम्झौता भएको ७ दिन भित्र ३०प्रतिशत रकम लिएर सर्त बमोजिमका सेवा प्रदान नगरी सम्पर्कविहीन भएका थिए ।
त्यसपछि विद्युतीयमाध्यम सम्बद्ध ठगी कार्य भएको भनि पीडित पोल्यान्डका नागरिकको निवेदनका आधारमा खोजतलास गर्दा उनी रोल्पामा भएको पत्ता लागेपछि ब्यूरोको टोलीले रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याएको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।