चितवन : समग्र स्वास्थ्यसेवा प्रवाहमा कालिका नगरपालिका चितवन जिल्ला पहिलो भएको छ। जनस्वास्थ्य कार्यालय चितवनले गरेको समग्र स्वास्थ्य क्षेत्रको कार्यसम्पादन मूल्याङ्कनमा कालिका नगरपालिका पहिलो हुन सफल भएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह, औषधि तथा सामाजिक विकासका चरणको मूल्याङ्कनमा कालिका नगरपालिका पहिलो भएको हो ।
जनस्वास्थ्य कार्यालयले चितवनका सातवटा स्थानीय तहकोे कार्यसम्पादन मूल्याङ्कनमा माडी नगरपालिका दोस्रो र खैरहनी नगरपालिका तेस्रो भएको जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले जानकारी दिए । उनका अनुसार कालिका नगरपालिकाका स्वास्थ्य क्षेत्रमा सेवा दिएका सबै संस्थाहरु उत्कृष्ट भएर नै जिल्ला प्रथम हुन सफल भएको हो ।
‘यसमा एउटा पालिका अस्पताल वा कुनै एउटा स्वास्थ्यचौकीले राम्रो काम गरेर प्रथम भएको होइन, त्यहाँको समग्र स्वास्थ्यको सेवा नै अन्य पालिकाको भन्दा राम्रो भयो’, जनस्वास्थ्य प्रशासक घिमिरेले भने, ‘दोस्रो हुने माडी नगरपालिका होस् वा तेस्रो भएको खैरहनी नगरपालिका होस्, सबैको हकमा यही नै हो ।’
साना एक सयभन्दा बढी र महत्त्वपूर्ण १२ भन्दा बढी सूचकहरुको मूल्याङ्कन गरेर नतिजा सार्वजनिक गरिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
‘स्वास्थ्यसेवाका सम्पूर्ण सूचक तथा प्रस्तुतीकरणसमेतको मूल्याङ्कनका आधारमा नतिजा निकालेका हौँ’, घिमिरेले भने । उनका अनुसार स्वास्थ्य कार्यालयले मूल्याङ्कनका लागि पाँच सदस्यीय समिति बनाएको थियो ।
मातृशिशु स्वास्थ्य, खोप अभियानअन्तर्गत पूर्ण खोप, ड्रप आउट, रोग नियन्त्रण, सरसफाइ र स्वास्थ्य जनचेतना, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्या, पोषण, औषधि वितरण प्रणाली, सेवा विस्तार, बाल तथा मातृमृत्युदर, स्वास्थ्य प्रणाली सुदृढीकरणको अवस्थालगायतका विभिन्न सूचकमा टेकेर मूल्याङ्कन गरिएको थियो ।