काठमाडौँ, २६ कात्तिक : एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले प्राप्त गरेको छ।
थाइल्याण्डको बैंककमा आज सम्पन्न एडीपीसीको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गर्नुभएको हो।
यसअघि भारत सरकारका तर्फबाट त्यहाँको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख सिंह अध्यक्ष हुनुहुन्थ्यो। बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स र श्रीलंकाका सदस्यहरु सहभागी हुनुहुन्थ्यो।
सन् २०२५–२०२६ का लागि एडीपीसीको अध्यक्षको जिम्मेवारी ग्रहणपछि मन्तव्य राख्दै ई.भट्टले अध्यक्षका रुपमा आफूले एडीपीसीको शासकीय प्रबन्ध, नेतृत्व र संस्थागत विकासको सबलीकरणमा बोर्ड सदस्यहरुको थप क्रियाशीलताको अपेक्षा गरेको बताउनुभयो।
एडीपीसीका सदस्य राष्ट्रहरु, कार्यक्षेत्र रहेका राष्ट्रहरुका साथसाथै क्षेत्रीय तथा अन्तरराष्ट्रिय परिदृश्यमा दिगो विकास लक्ष्यहरु हासिल गर्न विपद् तथा जलवायु जोखिम न्यूनीकरणलाई अगाडि बढाउनका लागि एडीपीसीको विशिष्ट स्थान रहेको ई.भट्टले उल्लेख गर्नुभयो ।
जिम्मेवारी ग्रहण लगत्तै आजै एडीपीसी बोर्ड अफ ट्रष्टीको छैटौँ बैठक अध्यक्ष ई.दिनेशप्रसाद भट्टको अध्यक्षतामा बसेको थियो
एडिपिसिले एसिया र प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको लागि क्षमता अभिबृद्धिलगायतका क्षेत्रीय कार्यक्रमहरुको नेतृत्व गर्दछ । यी पहलहरु दीर्घकालीन उत्थानशीलता निर्माण गर्न नीतिगत समर्थन र बहुसरोकारवाला सहकार्यमा केन्द्रित छन्।
एडीपीसी एक स्वायत्त अन्तरराष्ट्रिय संस्था हो। यसको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ। यस अवधिमा सेन्टरको सह–अध्यक्षता पाकिस्तानले गर्दैछ।