काठमाडौँ, २५ कात्तिक : नेपालको विकासका लागि प्रमुख समस्या नै भ्रष्टाचार भएको उल्लेख गर्दै अहिले भ्रष्टाचार नियन्त्रण नै प्रमुख मुद्दा हुनुपर्ने आज राजधानीमा आयोजित कार्यक्रमका वक्ताहरुले औँल्याउनुभएको छ ।
ट्रान्परेन्सी इन्टरनेशनल (टिआइ) नेपालद्धारा काठमाडौँमा आयोजित ‘नेपालमा भ्रष्टाचार नियन्त्रणको भावी रणनीति’ विषयक अन्तरक्रियात्मक छलफलमा सहभागीहरुले जेनजी आन्दोलनको मुल मूद्दा नै भ्रष्टाचार नियन्त्रण र शुसासन भएको उल्लेख गर्दै सहभागीहरुले प्रमुख मुद्दा नै अहिले भ्रष्टाचार नियन्त्रण भएको बताउनुभएको छ ।
छलफलमा पूर्वमहालेखापरीक्षक तथा टिआइ नेपालका सदस्य टङ्कमणि शर्मा दङ्गालले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विगतमा भएको भ्रष्टाचार र कुशासनले नागरिकहरुमा वितृष्ण फैलिएको उल्लेख गर्दै त्यसका लागि रणनीतिक योजनाका साथ भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
यसका लागि राजनीतिक दलले पनि आफूलाई सच्याएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अहिले नेपालको सम्पत्ति नै तस्कर र भ्रष्टाचारीहरुको हातमा रहेको जिकिर गर्नुभयो । उहाँले विसं २०४६ पछिका राजनीतिक दलको सम्पत्ति आयोग बनाएरै छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।
एकजना राजनीतिक प्रतिनिधि रञ्जु झाले नेपालको प्रणाली नै परिवर्तन गर्न नसके भ्रष्टाचार रोक्न नसकिने धारणा राख्नुभयो । उहाँले अहिलेको नीति तथा प्रणालैकै कारण भ्रष्टाचार मौलाउँदै गएको पनि बताउनुभयो ।
जेनजी प्रतिनिधि इश्वरी कार्कीले दल र नेताहरुको सम्पत्ति छानविन गर्न जरुरी रहेको बताउनुभयो । दलहरुले भ्रष्टाचार गरेकै कारण जेनजी आन्दोलन भएको र जेनजी आन्दोलनको भावना भनेको नै भ्रष्टाचार नियन्त्रण रहेकाले सबै मिलेर यसमा कामगर्न जरुरी रहेको बताउनुभयो ।
अर्का राजनीतिक प्रतिनिधि रेखा शर्माले भ्रष्टाचार नियन्त्रणमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ट्रान्परेन्सी नेपालका अध्यक्ष मदनकृष्ण शर्माले भ्रष्टाचार नियन्त्रणका लागि कसरी अघि बढ्न सकिन्छ भनेर सुझाव लिनका लागि यो छलफल राखिएको बताउँदै यहाँको निष्कर्ष महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले टिआइ नेपालले कार्यक्रममार्फत सुशासनको पहल थालेको पनि जानकराी दिनुभयो ।