काठमाडौँ, २५ कात्तिक : लोकतन्त्रको आधार निर्वाचन भएकाले समयमै निर्वाचन सम्पन्न गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा काठमाडौँमा आज आयोजित एक कार्यक्रममा राजनीतिक नेता, जेनजी र सहभागी प्रतिनिधिहरुले जोड दिनुभएको छ ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा आज बानेश्वरमा भएको ‘लोकतन्त्र र निर्वाचन’ विषयक अन्तरक्रियामा बोल्दै उहाँहरुले यस्तो बताउनुभएको हो ।
छलफलमा भाग लिँदै नेपाली कम्युनिष्ट पार्टीका युवा नेता माधव सापकोटाले लोकतन्त्रको आधार जनताको शक्ति भएको उल्लेख गर्दै त्यो शक्ति निर्वाचनमार्फत प्राप्त हुने भएकाले वर्तमान समयमा निर्वाचनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टी भित्रको लोकतन्त्र र जनवाद कमजोर हुँदा मुलुक नै कमजोर हुने उल्लेख गर्दै त्यही कारण जेनजीहरुले आन्दोलन गर्नुपरेको उल्लेख गर्नुभयो ।
नेता सापकोटाले अहिलेका राजनीतिक पार्टीहरुको सर्भिसिङ गर्न जरुरी रहेको बताउनुभयो । उहाँले दलहरुलाई नागरिकप्रति उत्तरदायी बनाउन जरुरी रहेको र त्यसका लागि नागरिकको खबरदारी जरुरी रहेको औँल्याउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले लोकतन्त्र बलियो बनाउन निर्वाचन महत्वपूर्ण भए पनि वर्तमान अवस्थामा निर्वाचनको वातावरण नबनेको उल्लेख गर्नुभयो । उहाँले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।
सहभागीहरुले लोकतन्त्रका आधार नै निर्वाचन भएको भन्दै सबै मिलेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचनले मात्रै देशमा स्थिरिता कायम गर्ने बताउनुभयो । जेनजीका माग पूरा गर्न पनि निर्वाचन आवश्यक भएको उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष शुशिल प्याकुरेलले समाज परिवर्तनको बाहक नै युवा भएको उल्लेख गर्दै जेनजी आन्दोलनले एउटा दिशा दिएको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासन मुख्य मुद्दा भएकाले त्यसतर्फ सबै केन्द्रीत हुनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा जेनजी मुभमेन्ट एलाइन्सका प्रतिनिधि रिजन राना मगरले निर्वाचन सफल पार्न सबैको साथ र सहयोग जरुर िरहेको बताउनुभयो ।
निर्वाचनमार्फत बन्ने सरकारले मात्रै जेनजीका माग सम्बोधन हुने उहाँको भनाइ थियो । उहाँले जेनजीको आन्दोलनपछि बनेको सरकारलाई मात्रै दोष देखाएर नहुने र हरेकले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
अर्का जेनजी प्रतिनिधि लुजा महर्जनले जेनजी आन्दोलनको अध्ययन गरेर मात्रै धारणा बनाउन आग्ह गर्दै विगतको विकृति विसंगति, आफन्तवाद, भ्रष्टाचार र कुशासनका कारण युवाहरु सडकमा आउनुपरेको उल्लेख गर्नुभयो ।