काठमाडौँ, २३ कात्तिक : आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले ५ दिनको म्याद दिएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौँ २४ गते प्रहरी वृत्त महाराजगञ्जको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीमाथि आक्रमणमा संलग्नलाई खोजतलास गर्ने क्रममा प्रहरीले भोजपुर घर भई हाल काठमाडौँको पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई सामाखुसी चोकबाट पक्राउ गरेको थियो ।
पक्राउ पछी उनलाई आज काटमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको समय दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक पवनकुमार भट्टराईले राससलाई बताउनुभयो ।
यसरी अपराधमा संलग्न फरार व्यक्तिको खोजतलास गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइ निजको कोठा खानतलासी गर्दा प्रहरीको टाइप–५४ पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन, ७ राउण्ड गोली र अन्दोलनका दिन लगाएको कपडा र जुत्तासमेत बरामद गरिएको उहाँले बताउनुभयो ।
उनीमाथि हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ जिल्ला प्रहरी परिसर काठामाडौँबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट ज्यानसम्बन्धी कसूरमा मुद्दा चलेको समेत अभिलेखमा देखिएको पनि उहाँले बताउनुभयो ।