काठमाडौँ, १८ कात्तिक : भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय) नलिनिकान्त भैश्यकका ‘हेरिटेज ईण्डिया‘ शीर्षकमा काठमाडौँमा छविचित्रहरू (फोटाहरु)को एकल प्रदर्शनी गरिएको छ ।
काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा आयोजना गरिएको उक्त तीनदिने एकल फोटो प्रदर्शनीले नेपालीहरुलाई भारतीय सम्पदाहरुबारे ज्ञान हासिल गर्न सहयोग पुगेको सहभागी अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन्।
प्रर्दनी अवलोकन गर्दै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वउपकूलपति गोपाल चित्रकारले परिषद्को प्रदर्शनी दीर्घामा राखिएका तस्वीरहरु स्तरीय रहेको र नेपालका कला, सँस्कृति र सम्पदा सन्दर्भमा समेत यसप्रकारका प्रदर्शनीको परम्परा नियमितता बन्न सकेमा फलदायी रहने प्रतिक्रिया दिनुभयो ।
उक्त प्रदर्शनीमा भारतका विभिन्न स्थानमा रहेका कला, संस्कृति तथा सम्पदा विषयसँग सम्बन्धित ३२ थान अत्यन्त कलात्मक र महत्वपूर्ण छविचित्रहरू समावेश गरिएका छन् ।
छविकार भैश्यकका अनुसार प्रदर्शीत छविचित्रहरू नेपाल र भारत दुवै देशको सांस्कृतिक पक्ष समान प्रकृतिको भएको र सो सन्दर्भमा नेपालमा समेत भारतको सांस्कृतिक स्थितिलाई प्रकाशित गर्न पाउनु गरिमाको विषय भएको बताउनुभयो ।
भैश्यक गुजरात राज्यका तर्फबाट पटकपटक सम्मानित व्यक्तित्वका रूपमा रहनुभएको छ । निकुञ्ज व्वाइका रुपमा चिनिनुभएका भैश्यक भारतमा गौरब पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँले अहिलेसम्म नेपालको संस्कृतिसँग भारीय संस्कृति मिल्ने भएकाले भारतको संस्कृति यता देखाउने र नेपालको संस्कृति भारतसहित विश्वमा देखाउने प्रयास आफूले गरिरहेको र फर्किएर भारतमा नेपाली तस्वीर प्रदर्शनी गरिने बताउनुभयो ।
यस प्रदर्शनीमा भारतको ११ राष्ट्रका सबै धर्मका संस्कृति, आर्किटेक, पत्थर र काष्टकला देखाउनुभएको छ । उहाँले यसरी ८ वटा एकल फोटो प्रदर्शनी गरिसक्नुभएको छ ।
यहाँ भारतका चर्तित सम्पदा ताजमहल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाउँ गुजरातको एक महत्वपूर्ण र कलात्मक गेट, भारतको लालकिल्ला, इन्डोलामहल, तामिलनाडुका गणेश र विष्णु, चेन्याइका मिनाक्षी मन्दिर, मैशासुर राक्षसको बध, मंगेश मन्दिर, इन्डिया गेट, रथ आकारको उडिसाको सन टेम्पिल, पद्मावती प्यालेस, बोधगया, जयपुुरको जल महललगायतका सम्पदाहरु प्रदर्शन गरिएको थियो ।
प्रदर्शनी अवलोकनमा नेपालका चित्रकार तथा लेखक रतनकुमार राइसहित नेपालका छविचित्र क्षेत्रका अधिकांश विशिष्ठ छविकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रदर्शनी संयोजक नेपालका वरिष्ठ चित्रकार र कला समालोचक नगेन्द्रप्रसाद पौड्यालले ऐतिहासिक तस्वीरहरु प्रदर्शनको संयोजन गर्न पाउँदा खुशी व्यक्ति गर्नुभयो ।
उहाँले फोटोग्राफीको सैद्धान्तिक पक्ष, प्राविधिक पक्ष वा छायाँ र प्रकाशका विषयका साथै विषयवस्तु छनोटका हिसाबले हेर्दा उत्कृष्ट रहेको र नेपाली फोटोग्राफरका लागि पनि सिकाइ भएको अनुभव सुनाउनुभयो ।
अग्रजहरु किरण चित्रकार, राजेन्द्र चित्रकार, श्याम चित्रकार, मिनरत्न बज्राचार्य, विकास रौनियार, हरिवंश किराँतलगायतको उक्त प्रदर्शनीको प्रशांसा गर्नुभएको उहाँले अनुभव सु्नाउनुभयो ।
यही कात्तिक १६ गतेदेखि आयोजना गरिएको फोटो प्रदर्शनी आज एक समारोका बीच समापन गरिएको छ ।