काठमाडौँ, १५ कात्तिक : यो वर्षको आज कात्तिक १५ गतेसम्म देशभर ४ हजार ५९७ वटा विपदजन्य घटना भएको छ ।
वैशाखयताका ती विपद्का घटनामा परेर आजसम्म ३३५ जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने १ हजार २६४ जना घाइते भएका पनि उहाँले जानकारी दिनुभयो ।
प्राधिकरणका अनुसार बाढीका मात्रै ३१६ घटना हुँदा ३७ को मृत्यु र २७ जना बेपत्ता भएका छन् । यस्तै पहिरोका ५५० घटना हुँदा ६७ जनाको मृत्यु र ४ जना बेपत्ता, चट्याङका ३५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका ५३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।
यस्तै जनावरको आक्रमणका २६९ घटनामा २५ को मृत्यु र १ बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ । भारी वर्षाका ४२० घटनामा ७, आगलागीका १ हजार ६१४ घटनामा २६, हावाहुरीका २८६ घटनामा ८ जनाको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
हिउँ पहिरोमा परी ९ जना बेपत्ता भएको पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आजमात्रै विभिन्न विपदजन्य घटनामा २ जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपदले ३१ जिल्ला प्रभावित बनाएको पनि प्राधिकरणले जानकारी दिएको छ ।