काठमाडौँ, १४ कात्तिक : मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा देशमै सबैभन्दा बढी १९३ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो धेरै भारी वर्षा हो । सुन्दर हरैचाको वर्षा अति धेरै भारीको नजिक पुगेको छ । २०० मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ ।
यस्तै अहिले ९ बजेसम्मको रेकर्ड अनुसार सप्तरीको बरमजियामा १३० मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको छ ।
यद्यपि बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा भने धेरै जिल्लामा भारी वर्षा भएको छ । झापा र उदयपुरमा ९३.६ र ९७.६ मिलिमिटर वर्षा भएको छ । दुई दर्जन बढी वर्षा मापदन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको छ । ललितपुरमा ७२ र काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ ।
विभागका सूचना अधिकारी कायस्लका अनुसार हाल बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले आज साँझसम्मै प्रभावित हुने जानकारी दिनुभयो । त्यसपछि भने सुधार हुँदै जाने छ ।
नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको उहाँले बताउनुभयो ।
हाल देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । भने कतै धेरै भारी वर्षा र धेरै ठाएँमा भारी वर्षा भएको छ ।