काठमाडौँ, २२ असोज : यही असोज १७ गतेपछिको मनसुनी विपदमा परी ५३ जनको मृत्यु भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्ममा मृत्यु हुनेको संख्या ५३ पुगेको जानकारी दिएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट २ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भएको छ । यस्तै पाँचथरमा १ र काभ्रेमा १ जनाले पहिरोबाट ज्यान गुमाएका छन् ।
यस्तै बाढीबाट मृत्यु हुने ११ जनामध्ये उदयपुरमा २, धनुषामा २, तथा इलामा, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एक÷एक जनाा रहेका प्राधिकरणले जनाएको छ ।
प्रवक्ता महतले बाढीबाट रसुवामा ४ र इलाममा १ गरी पाँचजना बेपत्ता भएका पनि जानकारी दिनुभयो ।
यस्तै मनसुनी विपदमा परेर सो तीन दिनको अन्तरालमा ४७ जना घाइते भएका छन् । घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका प्राधिकरणले आज सार्वनजनिक गरेको अध्यावधिक मनसुनी घटना विवरणमा उल्लेख छ ।
प्राधिकरणले अस्थायी आवास, पुनस्थापन र राहत प्रक्रियाकाबारेमा छलफल सुरु भइसकेको जानकारी दिएको छ । उक्त मनसुनी विपदमा ५० जिल्ला प्रभावित भएको थियो ।
यसपाली यही असोज १८ गते दिउँसो र रातिको समयमा मुसल्धारी वर्षा हुँदा ठूलो क्षति पुर्याएको थियो । अहिले भने मनसुन बाहिरिन सुरु भइसकेको छ ।