काठमाडौँ, १९ असोज : नेपालमा विभिन्न ८ वटा नदीले खतराको तह पार गरेको छ ।
आज विहानसम्मको अध्ययावधिक रेकर्ड अनुसार बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढीमापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ वटा नदी केन्द्रहरुमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ । उहाँका अनुसार कोसी प्रदेशमा बढ्दो, बागमती र मधेस प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ ।
यसैगरी कोसी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाब सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीब्रता विस्तारै घट्न शुरु गरेको छ भने कोसी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भईरहेको पनि जनाइएको छ ।
जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले आज विहान जारी गरेको सूचनामा उल्लेख छ ।
ती नदीमा बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने मध्यम जोखिम भोलि विहानसम्मै रहने जनाइएको छ ।
इलाममा आज पहिरा ेखस्दा दुई परिवारका २ जनाको मृत्यु र १० जना बेपत्ता भएका छन् । सप्तकोशी नदीमा बाढीले खतराको तह पार गरेपछि सबै ढोका खोलिएको छ ।