काठमाडौँ, १५ असोज : जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट भने मनसुन थ सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेका ेछ ।
विभागले मंगलबार राति दोस्रो दशैँ विशेष मौसम वुलेटिन जारी गरी बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ ।
विभागकी मौसमविद् विनु महर्जनले रासससँग भन्नुभयो, “हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर रहेको भएता पनि बंगालको खाडीमा विकसित भएको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू–भाग हुँदै प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र नेपालमा प्रवेश गर्न लागेकाले यही १७ गते आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।”
उहाँले सो न्यून चापिय प्रणालीको कारणले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशको खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताउनुभयो ।
तसर्थ, नेपालमा यस वर्षको दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने उहाँले बताउनुभयो । अहिले नेपालमा मनसुनी वायुको प्रभाव र स्थानीय वायु विकसित हुँदा नेपालमा मौसम वदली भइरहेको पनि उहाँले बताउनुभयो ।
असोज १७ (एकादशी)मा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
असोज १८ गते कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असोज १९ गते कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षा को सम्भावना रहेको छ ।
दशैँको अन्तमा मनसुन सक्रियसमेत हुने सम्भावना रहेकाले सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरोको साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने देखएिको भिावगले जनाएको छ ।
मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।