काठमाडौँ : अर्थमन्त्री रामेश्वर खनालले एक्सन लिएपछि अहिले दशैंका मुखमा पूर्वपदाधिकारीहरुले धमाधम गाडीलगायतका सुविधा फिर्ता गरिरहेका छन् ।
जेनजी आनेलनबाट आएको सरकारले अहिले पूर्वपदाधिकारीहरूले गैरकानूनी रुपमा लिइरहेको सुविधा फिर्ता गर्ने अभियानमा जारी राखेको छ ।
सोहीक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेको आधिकारिक जानकारी प्राप्त भएको अर्थमन्त्री खनालले जानकारी दिएका छन्।
अर्थ मन्त्रालयले यसअघि कानूनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी गरिरहेको बताएको थियो।
गाडीका साथै आवश्यक इन्धर र सवारी चलाक सुविधासमेत प्राप्त गर्दै आएकोमा अन्तरिम सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।
प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ।
असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता अपनाउन भनेर विभिन्न निर्णय गरेको थियो ।
सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको हो ।
त्यसपछि संघीय संसद् सचिवालयले पनि सेवानिवृत्त राजनीतिक पदाधिकारीसँग सम्पर्क गरेको थियो । त्यसपछि पूर्व सभामुख घर्ती र महराले गाडी सुविधा फिर्ता गरेका हुन्।
संसद् सचिवालयका अनुसार उनीहरूले आइतबार गाडी फिर्ता गरेका हुन् । पूर्व सभामुख अग्निप्रसाद सापकोटा र तारानाथ रानाभाटले पनि गाडी फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
‘दशैं बिदा सुरु भइसकेकाले बिदा सकिने बित्तिकै गाडी फिर्ता गरिदिने प्रतिबद्धता आएको छ,’ संसद् सचिवालयको सवारी शाखाले जनाएको छ ।
संसद् सचिवालयको गाडी नियम विपरीत चढ्नेहरू अझै बाँकी रहेको सम्बन्धित अधिकारीहरू बताउँछन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको नेतृत्वको सचिवालयमा रहेका सहसचिवस्तरका व्यक्तिले समेत गाडी सुविधा लिइरहेका छन् ।