काठमाडौँ, ११ असोज : जल तथा मौसम विज्ञान विभागले यसपालीको दशैँका अवसरमा मनसुनको अवस्था समेटेर आज दशैँ विशेष मौसम बुलेटिन जारी गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुन वायूको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ ।
हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशैँ अवधिभर मनसुनी वायूको प्रभाव रहिरहने देखिएको आज साँझ जारी विशेष बुलेटिनमा उल्लेख छ ।
नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भएता पनि प्रत्येक वर्ष सो मिति भने फरकफरक हुने गर्दछ ।
जारी बेलेटिनमा असोज १४ (अष्टमी)मा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।
असोज १५ (नवमी)मा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज १६ (दशमी)मा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस वर्षको दशैँको अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले विभागबाट जारी हुने सूचना अध्यावधिक गरी आवश्यक काम कारबाही गर्न अनुरोध गर्नुभएको छ ।