काठमाडौँ, ११ असोज : सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्र तथा चाडपर्वका सुरक्षा संकट र सामानको अवैध चोरी पैठारी भइरहेको जानकारी पाइएमा आवश्यक सूचना दिन नागरिकमा अपिल गरेको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले “देश रहे हामी रहन्छौ” भन्ने यथार्थलाई मनन गरी राजस्व चुहावट नियन्त्रणलाई राष्ट्रभावसँग जोडेर हेर्नुपर्ने बताउँदै भन्सार शुल्क तिरेर मात्र अन्तर्राष्ट्रिय सीमाबाट सामान ओसार पसार गर्ने बानी बसाल्न तथा अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न वा भए–गरेको पाइएमा सूचना दिइ सहयोग गर्न अनुरोध गर्नुभयो ।
सशस्त्र प्रहरीले त्यस्ता गतिविधि पाइएमा सशस्त्र प्रहरीको टोल फ्रि नम्बर १११४, केन्द्रीय प्रवक्ताको नम्बर ९८५१२७२००७, सीमा हटलाइन नम्बर ९८५१२६०७३० र केन्द्रीय अनुगमन नम्बर ९८५१२६१२०० मा सम्पर्क गरेर जानकारी दिन सबैमा अनुरोध गरेको छ ।
सशस्त्र प्रहरीले सूचना नै जारी गरेर भनेको छ, “समाजको सुरक्षा संकट सम्बन्धमा जानकारी गराउन, विपद् सम्बन्धमा आवश्यक जानकारी लिन उद्दारको लागि सूचना दिन तथा विशेषतः राजस्व चुहावट नियन्त्रण सम्बन्धमा आवश्यक सूचना दिन नजिकको सशस्त्र प्रहरी बल, नेपालको इकाई वा तलको नम्बरमा असल नियतले सम्पर्क गरी सहयोग गरी दिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं । साथै सीमा अपराध लगायत राजस्व छलीमा सशस्त्र प्रहरी बल, नेपालका कुनै कर्मचारी संलग्न भएको पाइएमा समेत उल्लेखित नम्बरमा सूचना दिई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।”
आगामी चाडपर्व सम्पूर्ण नेपालीहरुले भाईचारा तथा राष्ट्रिय एकताको भावनामा वृद्धि एवं सिङ्गो देशमा शान्ति सु–व्यवस्थाको कामना गर्दै सामाजिक मेलमिलाप सहित पर्व मनाउने विश्वास व्यक्त गर्दै उहाँले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रणमा सहयोग, विपद् उद्दार व्यवस्थापनलगायत नेपाल सरकारले समय सापेक्ष दिएको जिम्मेवारीलाई प्रभावकारी ढंगले निर्वाह गर्न सशस्त्र प्रहरी बल, नेपाल तपाईहरु माझ अहोरात्र परिचालन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
विपद् उद्दारमा सशस्त्र प्रहरी बल, नेपाल हरेक पल आम जनसमुदायसँगै रहेको सन्दर्भमा विगतमा सेती नदीको गहिरो खोचदेखि गोक्यो हिमतालको चिसोसम्मका उद्दारको घटनाहरु स्मरण गर्दै मनसुनको समय नसकिएको र देशको विविध भागमा आएको बाढी पहिरोका कारण लोकमार्गहरु अवरुद्ध रहेकोले यात्रा गर्ने रुटको पर्याप्त जानकारी लिएर मात्र सुरक्षित तवरले यात्रा गर्न पनि अनुरोध गरिएको छ ।
चाडपर्व अवधिभर सीमा सुरक्षा विभाग प्रमुखलगायत सबै वाहिनी तथा सीमा ईलाकामा परिचालित सबै युनिट प्रमुखहरु राजस्व चुहावट नियन्त्रणमा सक्रियरुपमा खटिएका जानकराी दिँदै प्रवक्ता धौवजीले आयातमुखी राजस्वमा निर्भर रहेको देशको अर्थतन्त्रलाई बलियो बनाउन राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी रहेको बताउनुभयो ।