नारायण ढुङ्गाना
काठमाडौँ, ९ असोज : नेपालमा विश्वकै लागि छेपारोका दुई नयाँ प्रजाति फेला परेको छ । संक्षणकर्मीको एक टोलीले नेपालको मकवानपुर र सिन्धुली जिल्लाबाट संसारका लागि छेपारोका द्ई नयाँ प्रजाति फेला पारेका हुन्।
वेन्ट–टोड गेक्को अर्थात माउसुली परिवारमा पर्ने यी छेपाराहरु मकवानपुर जिल्लाको मकवानपुरगढी क्षेत्रबाट र सिन्धुली जिल्लाको हरिहरपुर क्षेत्रबाट फेला पारी पहिचान तथा नामकरण गरिएको हो ।
उक्त प्रजाति विश्वकै नयाँ प्रमाणित भई दुई दिन अघि मात्रै अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’मा औपचारिक रूपमा प्रकाशित समेत भइसकेको फेडेरेसन युनिभर्सिटी अष्ट्रेलियामा छेपारोमै विद्यावारिधि गरिरहनुभएका संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती दुई प्रजातिहरू चुरे (सिवालिक) पर्वतश्रृंखलाबाट भेटिएका हुन् । चुरे (सिवालिक) क्षेत्र जैविक विविधतामा समृद्ध भए पनि कम अध्ययन गरिएको क्षेत्रमा पर्छ । भट्टराईको टोलीले गएको जुन÷जुलाई २०२४ मा उक्त प्रजाति फेला पारेको र नयाँ प्रजाति यकिन गरेपछि हालै जर्नलमा प्रकाशित गरिएको हो ।
नयाँ फेला परेका प्रजातिहरूमध्ये एउटा मकवानपुरगढी क्षेत्रमा भेटिएकाले “मकवानपुरगढी वेन्ट–टोड गेक्को” राखिएको छ । त्यस्तै, सिन्धुलीको हरिहरपुर क्षेत्र चुरे पर्वतश्रृंखलामा पर्ने भएकाले त्यहाँ भेटिएको प्रजातिको नाम चुरे क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी ‘चुरे वेन्ट–टोड गेक्को’ राखिएको छ ।
यसरी फेला पारिएका २ वटा नयाँ प्रजातिहरू यस अनुसन्धानका मुख्य शोधकर्ता सन्तोष भट्टराईको टोलीले विद्यावारिधि अध्ययनका क्रममा सन् २०२४ को जुन–जुलाई महिनामा भेटिएका थिए । सोही टोलीले गत वर्ष पनि वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालबाट ३ वटा प्रजाति फेला पारी तिनीहरूको नामकरण गरेका थिए ।
गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपाराहरु संसारभरी ३८० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका २ नयाँसहित जम्मा ७ प्रजातिहरु मात्र पाइएको छ । जसमध्ये ५ वटा प्रजातिहरू भट्टराईकै नेतृत्वको समूहले फेला पारी नामकरण गरेका हुन् ।
नेपालमा पाइने वेन्ट–टोड गेक्कोका ७ प्रजातिहरु मध्ये २ वटा प्रजाति संरक्षित क्षेत्रभित्र तथा बाँकी ५ प्रजातिहरू संरक्षित क्षेत्र बाहिर रहेका छन् ।
सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्थाहरु ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिहरुको रेकर्ड हुन बाँकी नै रहेको छ । तसर्थ सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिहरुको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिहरुको अध्ययन अनुसन्धान तथा संरक्षणमा प्रथामिकीकरण गर्नुपर्ने देखिएको संरक्षणकर्मीहरुले बताएका छन्।
नेपालको चुरे पर्वत श्रृंखलाबाट संसारका लागि नयाँ रूपमा फेला परेको यो प्रजातिले चुरे क्षेत्रमा अझ बढी जैविक विविधता अध्ययन हुनु आवश्यक रहेको देखाएको छ ।
उक्त अध्ययनका लागि नेपालका संरक्षणकर्मीहरु सन्तोष भट्टराई, विवेक गौतम, विशाल न्यौपाने, भारतबाट अक्षय खान्देकर, तेजस ठाकरे, इशान अगर्वाल, अष्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी हुनुहुन्थ्यो ।
वरिष्ठ संरक्षणकर्मी करण शाह भन्नुहुन्छ, “उक्त टोलीले हालै फेला पारेको यो माउसुली परिवारको किरा फट्याङ्ग्रे खाने छेपारो हो । बालीनाली नोक्सान, लुगाफाटो नोक्सान गर्ने चिजलाई खाएर यसले जोगाउने काम गर्छ र यो छेपारो धेरै जीवनजन्तुको आहारा पनि हो । त्यसैले यसले इकोसिष्टम सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ र यो परम्परागत औषधिमा पनि प्रयोग गर्ने गरिएको छ ।”
उहाँले यस्ता प्रजातिहरुको अध्ययन, अनुसन्धान र यसलाई जोगाउन जरुरी रहेको बताउनुभयो । यो समूहले संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको उहाँले अनुभव सुनाउनुभयो ।
केही अघि पनि यही टोलीले तीनवटा नयाँ प्रजातिको छेपारो पत्ता लगाएको थियो । गएको वर्ष फेला पारिएको तीन प्रजातिमध्ये एउटाको नाम नेपालकै वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर–सरीसृप) संरक्षणमा गरेको योगदानस्वरूप उहाँकै नाममा ‘करण वेन्ट–टोड गेक्को’ भनेर नामाकरण गरिएको थियो ।