काठमाडौँ, १० असोज : गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा हराएका हातहतियार बुझाउने वा जानकारी दिनेलाई उचित सम्मान दिने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता, सहसचिव आनन्द काफ्लेले यसरी हतियार बुझाउन ल्याउने र सूचना दिने समय असोज मसान्तसम्म तोकिएको जानकारी दिनुभयो ।
त्यसपछि कोही कसैसँग ती हराएका हातहतियार खरखजाना फेला परेमा कानुन बमोजिम कारबाही गरिने पनि उहाँले बताउनुभयो ।
मन्त्रालयले सूचना जारी गरेरै सर्वसाधारणमा हतियार बुझाउन सार्वजनिक अनुरोध पनि गरेको छ ।
मन्त्रालले जारी गरेको सूचनामा भनिएको छ, “भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना कोही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा २०८२ असोज मसान्तसम्म बुझाउनुहुन अनुरोध गरिन्छ । यसरी सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने समेत सबैमा अनुरोध छ ।”
“त्यसपछि हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ”, जारी विज्ञप्तिमा उल्लेख छ ।
जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालय तथा प्रहरबिाटै हतिरया खोसेर लगिएको थियो । धेरै हतियार अझै फेला पार्न सकिएको छैन ।