काठमाडौँ, २६ भदौ : जेनजी पुस्ताको नाममा भएको हिंसात्मक प्रदर्शन भदौ (२३ र २४) पछि विस्तारै जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलबाट वार्ता आव्हान गरी सबै सुरक्षा निकायको समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको छ ।
अहिले जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन् भने विभिन्न संघ संगठनहरुले पनि शान्ति स्थापनाका लागि आह्वान गरिरहेका छन् ।
जेनजीका प्रतिनिधिरु प्छि सडकमा सरसफाई अभियानमा निस्किएका देखिएको छ । आगजनी गरिएका कार्यालयका कर्मचारीहरु पनि ससरफाई, कागजात संकलन क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक कामहरु गरिरहेका छन् ।
सुरक्षाको नेतृत्व गरेको नेपाली सेनाले पनि निषेधाज्ञा तथा कफ्र्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ ।
आज विहान ६ बजेदेखि ९ बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छ भने आज साँझ ५ बजेदेखि ७ बजेसम्मका लागि पनिन खुला गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालेले सूचना जारी गरी जानकारी दिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कफ्र्यू भने भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।
कठमाडौँ उपत्यका तथा जिल्लाहरुमा अहिले नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायसँगको समन्वयमा शान्ति सुरक्षा प्रभावकारी बनाइएको छ । उपत्यकामा अत्यावश्यक कामका लागि हिँडडुलमा कुनै समस्या देखिएको छैन । तर अनायश्यक रुमपा हिँड्ने तथा भेला हुने कार्यलाई पूर्णरुपमा निषेध गरिएको छ ।
निषेधाज्ञा तथा कफ्र्यूको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ ।
उक्त समयमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने छन्।
यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न पनि सक्ने सेनाले स्पष्ट गरेको छ ।
उपत्यकामा आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध पनि गरिएको छ।