काठमाडौँ : दुई दिनको जेनजी आन्दोलनपछि काठमाडौँको अवस्था केही सामान्य बनेको छ ।
आज बिहानैदेखि काठमाडौंका सडकमा केही गाडी र नागरिक देखिएका छन् । पुरानो बानेश्वर, नयाँ बानेश्वर, पुतली सडक, सिंहदरबार क्षेत्रका सडकमा सामान्य आवतजावत देखिएको छ ।
किराना पसल, तरकारी पसल, डेरीलगायत पसलहरु सञ्चालनमा आएका छन् ।

काठमाडौँका प्रमुख सडकहरुमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेनजीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।
राष्ट्रपति कार्यालय, सिंहदरबार प्रधानमन्त्री कार्यालय, अदालतहरु लगायत सरकारी मुख्य संरचना र नीजि व्यापारिक केन्द्रमा आगो लगाएर ध्वस्त पारिएको छ ।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
प्रदर्शनका कारण फोहोर भएका केही सडकमा ब्रुमरले सफा गर्ने काम पनि सुरु भएको छ ।