काठमाडौँ, २२ भदौ : नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले हाल समाजमा देखा परेका सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सामनाका लागि आवश्यक सुरक्षा रणनीति निर्माण गरी परिचालन हुन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
आज नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले उक्त निर्देशन दिनुभएको हो ।
प्रहरी महानिरीक्षक खापुङ्गले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन थप संवेदनशीलता अपनाई कार्य गर्नुपर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा समेत थप सक्रियता अपनाउन आवश्यक रहेको बताउनुभयो ।
आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीबिक्रम शाहसमेतले सेवा प्रवाह र सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतका साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थयो ।