हजारौँ वर्ष पूर्व पृथ्वीमा अनिकाल लाग्यो । पानी नपर्दा मानिस, घरपालुवा र वनमा रहेका सबै प्राणीहरुले मृत्युवरण गर्न थाले । बोटबिरुवाहरु सुके ।
पृथ्वीमा जीवनको अस्तित्व नै समाप्त हुन थालेपछि मानिस, ऋषीमुनी, देवता सबै मिलेर भगवान इन्द्रको आराधना गर्न थाले । किन भने इन्द्रसँग बज्र थियो । त्यसको गर्जनले बादलहरु मडारिएर पानी पार्न सकिन्थ्यो ।
लगातार लामो समय इन्द्र भगवानको पूजा गरेपछि उनी जागे । अनि पृथ्वीमा वर्षा गराइदिए । त्यसपछि पृथ्वीमा सहकाल फर्कियो अनि जीवन पनि फर्कियो ।
यही दिनको स्मरणमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा(आराधना गर्दै हरेक वर्ष आजकै दिन इन्द्रजात्रा पर्व मनाउने चलन बसेको हो ।
विशेषगरी काठमाडौँमा धुमधामका साथ मनाइने इन्द्रजात्रा पर्व अन्य भूगोलमा पनि सत्कारका साथ पूर्जाअर्चना गरेर मनाइन्छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यस पर्वमा विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा बाजागाजासहित मनाइने चलन रही आएको छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म जात्रा चल्छ सोही अनुसार अस्ती बिहीबार त्यस स्थानमा लिङ्गो ठड्याइसकेको छ ।
भोलीपल्ट कुमारीको सामुहिक पूजा अर्चना गरिएको छ । जात्रा अवधीभर यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा जारी राख्ने चलन छ ।
इन्द्र ध्वजलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ, जसको फेदमा भैरवको पूजा गर्ने परम्परा रही आएको छ। यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ।
स्वर्गमा अधिपत्य जमाएका दावनहरुमाथि राजा इन्द्रले विजयप्राप्त गरेको दिनको अवसरका रुपमा पनि यस दिनलाई स्मरण गरिन्छ ।
आजको दिन भने हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी कुमारीसँगै गणेश, भैरवको रथयात्रा चलाइन्छ । समारोहको राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।
जात्रा अवधीभर भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, साथै इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच देखाइन्छ।
जात्रा सुरु भएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ अर्थात् लिङ्गो लडाउन गर्ने धार्मिक विधान रहेको धर्मशास्त्रीहरुले बताएका छन् ।
साथै उपत्यकाको पश्चिमस्थित दहचोकको इन्द्रदहमा मेला लाग्ने गर्छ । भाद्र शुक्ल पूर्णिमासम्म त्यहाँ पूजा अर्चना गर्दै जाग्राम बसेर स्नान परम्परा रहेको छ ।