नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली चीनबाट फर्के लगत्तै उनकै उपस्थितिमा बैठक बस्न लागेको हो ।
एमाले प्रचार विभागका अनुसार अपराह्न ३ः०० बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने तयारी भएको छ ।
विभागका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने तयारी रहेको छ ।
बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशन प्रस्तुत गरिने जनाइएको छ ।
महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्ने तयारी रहेको विभागले जानकारी दिएको छ ।
एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा भोलीदेखि तीन दिन चल्दैछ ।
त्यसको पूर्वसन्ध्यामा बस्ने बैठकले महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।
एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुने जानकारी पनि अध्यक्षलाई बैठकले गराउनेछ ।