अफगानिस्तानमा भूकम्पका जाँदा मृत्यु हुनेको संख्या आठसय बढी नाघेको छ । तीन हजार भन्दा बढी मानिस घाइते भएको जनाइएको छ । बारम्बार परकम्प गइरहेकाले मानिसहरु त्रस्त छन् ।
गएराती ६ म्याग्नेट्युटको भूकम्प गएको हो । रातको समयमा भूकम्प गएकाले पनि बढी क्षति भएको मानिएको छ ।
तालिबान सरकारका प्रवक्ता शराफत जमानलका अनुसार भूकम्पपछिको अवस्था तहसनहस रहेकाले अन्तर्राष्ट्रिय सहायताका लागि सरकारले अपिल गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भने, “यहाँ धेरै मानिसहरूले ज्यान गुमाए र घरहरू भत्किए, तर अहिलेसम्म कुनै पनि देश र विदेशी संस्थाले उद्धार वा राहतका लागि सहयोगको प्रस्ताव गरेका छैनन् ।”
भग्नावशेषहरुमा अझै पनि उद्धार कार्य जारी रहेकाले हताहतीको संख्या बढ्न सक्ने उनले जानकारी दिए ।
अफगानिस्तान हिन्दुकुश पर्वत श्रृंखलामा पर्ने भएकाले विनाशकारी भूकम्पको जोखिममा रहेको छ । जहाँ भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरू आपसमा जोडिन्छन् ।
भूकम्पको केन्द्रबिन्दु देशको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा जमिनभन्दा आठ किलोमिटर तल रहेको बताइएको छ।
दुई वर्ष अघि पनि त्यहाँ भूकम्प जाँदा एक हजार बढी मानिसले ज्यान गुमाएका थिए ।