काठमाडौँ, १४ भदौ : काठमाडौँ महानगरपालिका वडा नम्बर २२ मा रहेका सम्पदालाई क्यन्भासमा उतारिएको छ।
सम्पदालाई संरक्षण र प्रवद्र्धन गरी जीवन्त राख्ने उद्देश्यका साथ काठमाडौँ २२ ले २५ जना कलाकारलाई समावशे गरेर तयार पारिएका चित्रहरुको आज धरहरामा प्रदर्शनसमेत गरिएको छ ।
उक्त प्रदर्शनीमा काठमाडौँ महानगरपालिका २२ का वडाध्यक्ष चिनिकाजी महर्जनले यहाँका मूर्त र अमूर्त सम्पदाहरुले हाम्रो सम्पदा, पहिचान इतिहास र संस्कृति बोकेको हुनाले वडाले संरक्षण प्रयास थालेको बताउनुभयो ।

उहाँले यी सम्पदाहरुलाई विगतसँग जोड्नेमात्रै होइन वर्तमानलाई समृद्ध बनाउने र भविश्वलाई मार्गदर्शन गर्ने आधार पनि प्रदान गर्ने बताउनुभयो । २२ वडामा रहेका मूर्त र अमूर्त सम्पदाको दृष्यात्मक अभिलेख तयार पार्ने, सम्पदाको इतिहास सांस्कृतिक र सामाजिक सन्दर्भलाई उजागर गर्ने, स्थानी यसमुदायलाई सम्पदा संरक्षणमा सक्रिय बनाउने भावि पुस्ताका लागि ज्ञानको स्रोत तयार पार्ने यस क्षेत्रका ऐतिहासिक स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले कला सिर्जना गरिएको उहाँले बताउनुभयो ।
कलाकारहरुले तेजबहाल, महांकाल, छत्रचण्डेश्वर, संकटा, भद्रकाली, जुद्धशमशेर र जुद्ध दमकल, चीभाः र संस्कार, रणमुक्तेश्वर, नासः फल्चा, सुनधारा, तलेजु भवानी, भैरव, धरहरा र सुन्धारा, श्वेत गणेश, चीधं बहाः, गणेशककुमार र खड्ग, गणेशर कलश, बौद्ध स्तुपा, प्रकृतिलगायतका विषयमा चित्रकला सिर्जना गर्नुभएको छ । ती चित्रहरुको आज धरहरामा प्रदर्शन गरिएको थियो ।

यी चित्रकला र सम्पदा समेटिएको क्याटलक समेत सो अवसरमा आजै विमोचन गरिएको थियो । सभ्यता नेपाः को प्रकाशनमा पुस्तक निकालिएको हो । कार्यक्रम स्वीमिङ, उद्घोषण तालिमका सहभागी तथा कलाकारहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
शनिवारीय चित्रकला कार्यशाला अभियानको सहकार्यमा उक्त कला सिर्जना र प्रदर्शनी भएको थियो । विगत ७ वर्षदेखि कलाकारहरुले उक्त अभियान चलाउँदै सम्पदा क्षेत्रमा गएर कला सिर्जना गर्र्दै आइरहेका छन् ।
सोही क्रममा गएको वैशाख १३ गते सम्पदा नेवाः संस्थाको आयोजनानमा काठमाडौँ महानगरपालिका- २२ को सम्पदा क्षेत्रमा पुगेर कलाकारहरुले कला सिर्जना गरेका अभियानका प्रमुख अभियन्ता दिवेश प्रधानले बताउनुभयो ।
कुल २५ जना कलाकारले उक्त अभियानमा सहभागीता जनाएका थिए । सोहीबेला सम्पदा अवलोकन गरी चित्र सिर्जना गरेकाहाकारहरुका चित्रहरु आज यहाँ प्रदर्शन गरिएको हो ।













