काठमाडौँ, १३ भदौ : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको आयोजनामा नेपालमा पहिलोपटक लोक, परम्परागत र शिल्प-हस्तकलाको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।
यही भदौ १६ गतेदेखि १८ गतेसम्म काठमाडौँमा तीन दिन हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिष्ठानको परम्परागत कला विभाग, वास्तुकला तथा लोककला विभाग र शिल्प हस्तकला विभागको संयुक्त संयोजनमा हुन लागेको सम्मेलनमा देशका सातै प्रदेशबाट लोक परम्परागत शिल्प हस्तकला क्षेत्रका कलाकार, विज्ञ तथा सरोकार राख्ने प्रतिनिधिहरुको सहभागिता रहने भएको छ ।
तीन दिनसम्म चल्ने सम्मेलनले लोक परम्परागत शिल्क, हस्तकलामा वर्तमान चुनौती के छन्, किन पछि परिरहेको छ, नीति गत रुपमा भएका समस्या र समाधानका उपाय के हुनसक्छन्, कलाकार र नीति निर्माताले के काम गर्न सक्छन् भन्ने विषयमा छलफल गरी काठमाडौँ घोषणापत्रसमेत जारी गरिने प्रतिष्ठानको वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ६० भन्दा बढी विज्ञ, कलाकार सहभागी सम्मेलनमा उद्घाटनपछि अलगअलग रुपमा ८ वटा कार्यपत्र प्रस्तुत हुने र ती कार्यपत्रमाथि समुहगत छलफल हुने छ । उक्त सम्मेलन मुख्यगरी ती कलाको दस्तावेजीकरण गर्ने तथा बुझ्ने र बुझाउने प्रयासस्वरुप आयोजना गरिएको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो ।
प्रतिष्ठानले यसअघि चित्रकला र मूर्तिकलाको यसरी गरी सम्मेलन गरेको थियो भने लोक, परम्परागत कला तथा शिल्प हस्तकलाको सम्मेलन भने पहिलो पटक आयोजना हुन लागेको हो । पछिल्लो समयमा संघीय संरचनाअनुसार नेपाली कलाका गतिवधि भइरहेका छन् । कला प्रदर्शनी पनि सातै प्रदेशमा आयोजना गर्न थालिएको छ ।
गाउँगाउँमा लुकेका रैथाने कलाको प्रवद्र्धन र विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने र रुपान्तरणको अभियानमा प्रतिष्ठान रहेकाले सम्मेलन फलदायी हुने विश्वास गरिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो ।
सम्मेलन यही १८ गते काठमाडौँ घोषणपत्र जारी गरी सकिने छ । उक्त घोषणापत्र कार्यान्वयनका लागि सरकारलाई समेत बुझाइने बताइएको छ ।