काठमाडौँ, १३ भदौ : पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्याधिक वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२.३ मिलिमिटर वर्षा भएको । यो मुसल्धारे वर्षा हो ।
विभागको मौसम पूर्वानुमा महहाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले त्यही ठाउँमा एउटा न्युन चापीय प्रणाली बसेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी वर्षा भएको जानकारी दिनुभयो । तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको छ ।
विभागका अनुसार पर्वतको पञ्चासेमा पनि १७९.३ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा मापन हो । यस्तै बाँकेमा पनि १४६.३ मिलिमिटर वर्षा भएको ।
यस्तै दाङमा १३८, दार्चुलामा १०७, सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको छ । १२ भन्दा बढी स्टेशनमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ ।
५० देखि ८० मिलिमिटरको बीचमा भने धेरै मापन केन्द्रहरुमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ । मौसमविद् मानन्धरले दिउँसो साँझसम्म वर्षा अलि देखिएको र भोलि भने केहीकम हुने बताउनुभयो ।
स्थानीय प्रणाली आएर घुमेर बसेकाले पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बंगालको खालीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ ।
आज कोशी, गण्डकी, कर्णाली र सुदुपश्चिम प्रदेशमा बढी मनसुनी प्रभाव रहेको जनाइएको तर बदली भने देशैभरी रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।