काठमाडौँ ६ भदौ : नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको दुई दिवसीय प्रथम महिला प्रहरी सम्मेलन, २०८२ आज सम्पन्न भएको छ ।
हिजो देखि सुरु भएको सम्मेलन समापन गर्दै गृहसचिव गोकर्णमणि दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तिकरणको यात्रामा नयाँ अध्यायको सुरूवात गरेको बताउनुभयो ।
नेपाल प्रहरीमा पहिलोपटक देश भरका महिला प्रहरी कर्मचारीहरू, अवकाश प्राप्त महिला प्रहरी अधिकृतहरू, महिला सशक्तिकरण र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने समाजका महानुभावहरूलाई एकै मञ्चमा ल्याएर छलफल, अनुभव आदान प्रदान र भविष्यको अवसर तथा नेतृत्वको विषयबारे विचार गर्न यो सम्मेलन फलदायी भएको उहाँले बताउनुभयो ।
सम्मेलनमा सहभागी विषय विज्ञहरूको विज्ञता, विभिन्न अनुसन्धानको प्रतिवेदन प्रस्तुती, सहभागीहरूको विचार एवम् अनुभवको आदान प्रदान, अन्तक्र्रिया र छलफलबाट नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण, सल्लाह एवम् सुझाव प्राप्त भएको र लैङ्गिक संवेदनशील प्रहरी सेवाको सुदृढिकरणको लागि प्रभावकारी रणनीति तर्जुमा गर्न सहयोगी भएको उहाँको भनाइ थियो ।
गृहसचिव दुवाडीले सम्मेलनबाट जारी भएको घोषणापत्र तथा प्रतिवेदन अत्यन्तै गहन एवम् महत्वपूर्ण रहेको र यसको कार्यान्वयनको लागि विशेष आग्रह गर्नुका साथै सम्मेलनबाट प्राप्त विचार तथा निष्कर्षहरू आगामी दिनमा नीति निर्माण र संस्थागत सुधारका लागि मार्गदर्शक सिद्धान्तको रूपमा अबलम्वन गर्न आवश्यक रहेको बताउनुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले सम्मेलनमा व्यक्त भएका विचारहरू, विभिन्न विषयका विज्ञहरूको विश्लेषण, अनुसन्धान प्रतिवेदनका प्रस्तुतिहरू, सहभागीहरूको अनुभवको आदान प्रदान र अन्तक्र्रियामार्फत नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण तथा सुझावहरू प्राप्त भएको बताउनुभयो ।
प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, ट्राफिक व्यवस्थापनलगायतका क्षेत्रमा समेत महिला प्रहरी कर्मचारीहरूले उल्लेखनीय कार्य गरेको चर्चा गर्दै आगामी दिनमा समेत उच्च मनोबल र थप जोश जाँगरका साथ नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
यो सम्मेलन नेपाल प्रहरीमा महिला प्रहरीका लागि अझ उत्कृष्ट अवसर र वातावरण सृजना गर्न संगठन सदैव गतिशील रहेको बताउँदै महिला प्रहरी कर्मचारीहरूको सशक्त भूमिका निर्माणका लागि मार्गनिर्देशन गर्न र प्रहरी सेवालाई समावेशी, व्यावसायिक एवम् जनमुखी बनाउन यस सम्मेलन कोशेढुंगा सावित भएको विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक राजन आधिकारीले सम्मेलनले प्रहरीलार्य मार्गनिर्देशन गरेको बताउनुभयो ।
लैङ्गिक समानता र लैंङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीय स्तरमा उक्त सम्मेलनको आयोजना गरिएको थियो ।
आज सम्मेलनको समापनका अवसरमा विभिन्न विधामा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारीहरू, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने व्यक्ति विभिन्न संघसंस्थाहरूलाई कदरपत्र, पुरस्कार एवम् प्रशंसापत्र प्रदान गरिएको थियो ।