नारायणगढ, चितवन, भाद्र ६ : ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आज आयोजित बृहत् रक्तदान कार्यक्रममा ठूलो संख्यामा दाताहरूको सहभागिता भएको छ।
प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरका अनुसार उक्त कार्यक्रममा ७२७ युनिट (पिण्ट) रगत संकलन भएको छ। उक्त कार्यक्रममाअन्तर्गत पुरानो मेडिकल कलेज, भरतपुरमा ५०८ पिन्ट तथा रत्ननगर टाँडीमा २१९ पिन्ट गरी जम्मा ७२७ पिन्ट रगत संकलन भएको हो।
बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी, भरतपुर महानगरपालिका वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेल तथा कलेज अफ मेडिकल साइन्सका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानको विशेष उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको थियो।
रक्तदानमा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रका व्यक्तिहरू सक्रियरूपमा सहभागी भएका थिए। कार्यक्रममा सहभागिता जनाउनेहरूले नियमित रक्तदानले समाजमा अमूल्य योगदान पुर्याउने मात्र नभई, आफ्नो स्वास्थ्यका लागि पनि लाभदायी हुने बताउँदै निरन्तर रक्तदानमा संलग्न रहनुपर्नेमा जोड दिएका थिए।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले समाजसेवा, जनचेतना र मानव कल्याणका उद्देश्यसहित नियमितरूपमा रक्तदान, योग तथा आत्मपरिवर्तनसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
प्रादेशिक रक्तसञ्चार केन्द्रका अधिकारीहरूले संकलित रगतले चितवन तथा आसपासका जिल्लाहरूमा उपचाररत बिरामीलाई जीवनदायी सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।