काठमाडौँ, ३ भदौ : विश्व मानवता दिवस २०२५ का अवसरमा काठमाडौँमा आज ‘नेपाल मानवीयता सम्मेलन’ भएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सुरु सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न १५ देशका साथै अष्ट्रेलिया तथा अमेरिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले नेपाल भौगोलिक अवस्थाकै कारण विपदको उच्च जोखिममा रहेको जानकारी दिँदै त्यसको व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।
सम्मेलनमा गृहमन्त्री लेखकले कानुन, नीति निर्माण गरेर साझेदारीमा आपत्कालीन अवस्थाको तयारीमा सरकार रहेको बताउँदै जोखिम न्यूनीकरणमा स्थानीय निकायको अगुवाई हुनेगरी कार्य अघि बढाइएको बताउनुभयो ।
विपदका घटनामा बढोत्तरी भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै गृहमन्त्री लेखकले श्रोत साधनको अभाव रहेको सन्दर्भमा विश्वमै विपद व्यवस्थापनका लागि रुपान्तरण जरुरी रहेको औँल्याउनुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, “स्थानीय नेतृत्वलाई सक्षम बनाउने र समान साझेदारीलाई सुदृढ गराउनु अहिलेको आवश्यकता हो, मानवतावादी प्रणालीलाई सक्षम बनाउँदै क्षेत्रीय एकतालाई सुदृढ बनाउनुपर्छ ।”
उहाँले विपद व्यवस्थापनमा दीगो वित्तीय क्षमता विकास गर्न जरुरी रहेको उल्लेख गर्दै क्षेत्रीय र अन्तरराष्ट्रिय अभ्यासलाई उपयोग गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
आपतकालीन तयारीमा तीनै तहको लगानी बढ्दै गएको जानकारी गराउँदै गृहमन्त्री लेखकले सबैखाले विपदबाट घरबारविहीन नागरिकको अस्थायी र स्थायी आवासका लागि साँढे ५ लाखसम्म दिने व्यवस्था गरिएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले विपद व्यवस्थापनमा स्थानीय समुदायलाई सक्षम बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले विपद्मा ८१ प्रतिशत मासिनको उद्धार स्थानीय निकायले गरेको र १८ प्रतिशत सुरक्षा निकायले गरेको पाइएको विवरण जानकारी गराउँदै यसले पनि स्थानीय समुदायलाई जति बलियो बनाउन सकिन्छ, त्यति नै उद्धार प्रभावकारी हुने बताउनुभयो ।
उहाँले विपदमा उत्कृष्ट मानवीय कार्य गर्नेलाई सम्मान तथा पुरस्कृतको थालनी गरिएको र अब भने मापदण्ड नै बनाएर अघि बढ्न लागिएको बताउनुभयो ।
उहाँले कुनै घटना हुँदा उद्धार गर्नेभन्दा रिल बनाउनेतर्फ मानिसहरु देखिएकाले मानवीयता हराउँदै गएको महसुस भएको उल्लेख गर्दै मानवीयता जगाउन जरुरी रहेका बताउनुभयो ।
सम्मेलनमा एनसेटका अध्यक्ष डा आमोदमणि दीक्षित, एनसेटका कार्यकारी निर्देशक तथा सम्मेलनका संयोजक सूर्यनारायण श्रेष्ठ, डिपी नेटका अध्यक्ष राजु थापा, संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक तथा मानवीय संयोजक हाना सिंगरलगायतले मानवीयता प्रवद्र्धनका लागि आवश्यक सहकार्यमा जोड दिनुभएको थियो ।
सम्मेलनमा नेपाल, म्यान्मा, बंगलादेश र पाकिस्तानका मानवीय सहयोगको उत्कृष्ट कथा प्रस्तुत गरिएको थियो । यस्तै कार्यक्रममा इन्डोनेसिया, फिलिपिन्स, नेपाललगायत देशका प्रतिनिधिमार्फत मानवीय उद्धार, सहयोग तथा स्थानीय समुदायको अगुवाईमा विपद व्यवस्थापनका विषयमा प्रस्तुतिकरणसमेत भएको आयोजक प्रतिनिधि तथा एनसेटका स्टक्चरल इन्जिनियर रविन चौलागाईँले जानकारी दिनुभयो ।
सन २००३ मा इराकमा भएको हत्याको स्मृतिमा विश्व मानवीयता दिवस मनाउन थालिएको हो । सन् २००९ देखि दिवस मनाउन सुरु भएको र नेपालमा गएको तीन वर्षदेखि उक्त दिवस मनाउन थालिएको हो ।