काठमाडौँ : जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति आँकलन गरिएको छ।
आँकलन गरिएका ७७ हजार ८५२ घरमध्ये चार प्रतिशत अर्थात् तीन हजार ३३९ घर प्रबलीकरण गर्न सकिने वर्गमा परेका छन्।
भूकम्पबाट क्षतिग्रस्त निजी आवासको प्रबलीकरण सम्बन्धमा जाजरकोट र रुकुमपश्चिमका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विषय विज्ञहरूसहित सरोकारवालासँग आज काठमाडौँमा छलफल भएको थियो।
निजी आवासका विस्तृत क्षति आँकलनबाट प्राप्त तथ्याङ्कका आधारमा प्रबलीकरणको प्राविधिक पक्षका बारेमा छलफल गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले जानकारी दिए।
कार्यक्रममा विज्ञहरू प्रा. जीवराज पोखरेल, डा. प्रेमनाथ मास्के, डा. रमेश गुरागाईँ, डा. हरिराम पराजुली, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक क्षितिजचरण श्रेष्ठले ढुङ्गा माटोका घरहरूको प्रबलीकरण गर्ने विधि एवं नेपालमा प्रबलीकरणको अनुभवबारे प्रस्तुतीकरण दिएका थिए।
शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन)का उपनिर्देशक अविनाश श्रीवास्तवले प्रबलीकरणका विद्यमान नीति तथा कार्यविधिबारे जानकारी दिए।
त्यसैगरी जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विस्तृत क्षति आँकलनमा छुटेकाहरूलाई पनि समावेश गर्नुपर्ने सुझाव दिए।
प्राधिकरणका कार्यकारी प्रमुख भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव ई. अर्जुनकुमार बमले विस्तृत क्षति आँकलनका नतिजाका बारेमा जानकारी दिएका थिए।